सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा काँग्रेसको टिकट क-कसले पाए?

२०८२ माघ ६, ११:०४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा  नेपाली काँग्रेसले आफ्नो उम्मेदवार चयन गरेको छ। १६ निर्वाचन क्षेत्रका लागि काँग्रेसले यो समाचार तयार गर्दासम्म कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाहेक १५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

नेपाली काँग्रेसका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा काँग्रेसले क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भिमबहादुर बडुवाल, ४ मा वीरबहादुर वलायर तथा क्षेत्र नम्बर ५ मा नारायण शाहलाई उम्मेदवार बनाएको छ।

काँग्रेसले दुई निर्वाचन क्षेत्र रहेको अछाम- १ मा भरतकुमार स्वाँर तथा अछाम-२ मा पुष्पबहादुर शाहले टिकट पाएका छन्। बाजुरामा भने काँग्रेसको उम्मेदवार जनकराज गिरी बन्ने भएका छन्।

काँग्रेसले बझाङमा प्रकाश रासाइली स्नेहीलाई उम्मेदवार चयन गरेको छ भने बैतडीमा चतुरबहादुर चन्दलाई टिकट दिएको छ। दार्चुलामा भने दिलेन्द्रप्रसाद बडूले चुनाव नलड्ने घोषणा गरेपछि धर्मानन्द जोशीलाई टिकट दिइएको छ।

काँग्रेसले डडेल्धुरामा नयनसिंह महरलाई टिकट दिएको छ। २०४८ देखि उक्त क्षेत्रमा शेरबहादुर देउवा चुनाव लड्दै आएकोमा यो पटक उनले चुनाव नलड्ने भनेपछि महरलाई टिकट दिइएको काँग्रेस स्रोतले बताएको छ।

डोटीमा भरतबहादुर खड्काले काँग्रेसको टिकट पाएका छन्। यता कञ्चनपुर १ मा गोपि उपाध्याय र २ मा नारायणप्रकाश साउँदले टिकट पाउँदा क्षेत्र नम्बर ३ मा भने यो समाचार तयार गर्दासम्म कसैलाई पनि टिकट दिइएको छैन। कञ्चनपुर ३ मा काँग्रेसबाट रमेश लेखकले नै टिकट पाउने एक नेताले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस