सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले कैलाली–५ बाट नरनारायण शाहलाई प्रतिनिधिसभा उम्मेदवार बनायो

२०८२ माघ ५, ०९:३५ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (मनु) लाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चयन गरेको छ। काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई उम्मेदवार बनाएको हो।

पार्टीका अनुसार उम्मेदवार शाहको मनोनयन दर्ता भोलि माघ ६ गते हुने कार्यतालिका रहेको छ। सो अवसरमा दिउँसो १२:३० बजे नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिने जनाइएको छ। कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन पार्टीले सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई अनुरोध गरेको छ।

शाह यसअघि दुई कार्यकाल नेपाली काँग्रेस कैलालीको जिल्ला सभापति भइसकेका नेता हुन्। कैलाली–५ बाट उम्मेदवार चयनका लागि शाहसहित डाक्टर आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर वडको नाम सिफारिस गरिएको थियो।

उम्मेदवार चयनपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामो राजनीतिक यात्रापछि आफ्नो प्रतीक्षाको घडी समाप्त भएको बताएका छन्। उनले निर्णय प्रक्रियामा संलग्न सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा निरन्तर साथ, सहयोग र सक्रिय समर्थनको अपेक्षा गरेका छन्।

“लामो राजनीतिक यात्रापछि आज अन्ततः मेरो प्रतीक्षाको घडी समाप्त भएको छ। निर्णय प्रक्रियामा संलग्न सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” शाहले लेखेका छन्, “आगामी दिनहरूमा यहाँहरू सबैको अपार साथ र सहयोगको अपेक्षा राखेको छु।”

कमेन्ट लोड गर्नुस