सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कांग्रेसबाहेक सबै दलले प्रतिनिधिसभा उम्मेदवार टुंग्याए

२०८२ माघ ५, १२:५७ खबर संवाददाता

बझाङ: बझाङमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाहेकका सबै प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेकपा माओवादी ९विप्लव समूह०ले उम्मेदवार छनौट गरिसकेका हुन् ।

नेकपा एमालेले केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले अर्का केन्द्रीय सदस्य अफिलाल ओखेडालाई उम्मेदवार घोषणा गरे पनि आइतबार उनको सट्टा ऐन महरलाई अघि सारिएको एमालेले जनाएको छ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले मिनबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ । कुँवर एमाले र माओवादी एकीकृत हुँदा बनेको नेकपाको बझाङ जिल्ला अध्यक्षसमेत भइसकेका थिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले सफल व्यवसायी शैलेसकुमार सिंहलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले भने भरत मल्ललाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

नेपाली कांग्रेसमा भने उम्मेदवार छनौट अझै हुन सकेको छैन । कांग्रेसमा सहमहामन्त्री प्रकाश रसाइली, पूर्व राज्यमन्त्रीहरू नरेसबहादुर सिंह र सुरेश मल्लसहित सत्यराज भण्डारी, अभिषेकबहादुर सिंहलगायत नेताहरू उम्मेदवारका आकांक्षी रहेका छन् ।

पार्टीभित्र देखिएको आन्तरिक विभाजनका कारण उम्मेदवार छनौटमा ढिलाइ भइरहेको र सोमबार दिउँसोसम्म टुंगो लाग्न सक्ने कांग्रेस नेता सत्यराज भण्डारीले बताएका छन् ।
 

कमेन्ट लोड गर्नुस