सुदूर नेपाललाई विश्वसँग जोड्दै

समायोजनको प्रभाव : सेती अस्पतालमा नाक, कान र घाटीको उपचार सेवा बन्द

२०७६ साउन २९, ०१:२९ खबर संवाददाता

समायोजनपछि स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको पदास्थापन गरेसंगै सुदूरपश्चिमका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ। सोही क्रममा सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेतीमा नाक, कान र  घाटी (इएनटी) उपचार सेवा ठप्प भएको छ। अस्पतालमा नाक कान घाटी विभाग हेर्दै आएका डाक्टर अशोक श्रीपाईलीको भेरी अस्पतालमा पदस्थापन भएपछि १५ गतेदेखि नै उक्त विभाग बन्द रहेको हो।

यसअघि पनि डाक्टर श्रीपाईलीको भेरी अस्पतालमा दरबन्दी भएपनि सेती अस्पतालमा काजमा काम गर्दै आएका थिए। तर समायोजनपछि फेरी पदस्थापन भेरीमै भएपछि डाक्टर श्रीपाईली साउन १५ गते भेरी अस्पतालमा हाजिर भएका थिए। सो दिनदेखि ईएनटी सेवा बन्द रहेको सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए।

सेती अस्पतालमा ९/१० औँ तहका लागि मात्रै नाक, कान घाटी रोग विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा डाक्टर श्रीपाईली ११ औँ तहका भएकाले दरबन्दी नभएपनि काजमा कार्यरत थिए। नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टरको पनि दरबन्दी खाली रहेको छ।

यता डाक्टर श्रीपाईलीले भने भेरी अस्पतालमा पदस्थापन भएपनि फेरी सेतीमै काजमा आईरहेको बताए। उनले १५ गते नै भेरीमा हाजिर भएपनि सेतीमा सेवा नै ठप्प भएपछि फेरी काजमा सेती अस्पतालमा आउन लागेको बताए। 
 

कमेन्ट लोड गर्नुस