सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा डडेल्धुराका अध्यक्ष अवस्थी भन्छन् "सागर ढकाल हाम्रो उम्मेदवार होइनन्"

२०८२ माघ २, ०७:०४ खबर संवाददाता

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबाट उम्मेदवार बन्ने दाबी सार्वजनिक गरेपछि पार्टीका जिल्ला सभापति सुरेन्द्र अवस्थीले त्यसप्रति आपत्ति जनाएका छन्।

सभापति अवस्थीले ढकालको अभिव्यक्ति पार्टीको औपचारिक निर्णय नभएको स्पष्ट पार्दै सार्वजनिक रूपमा बनाइँदै आएको माहोललाई ‘मिडिया ट्रायल’को संज्ञा दिएका हुन्।

उनका अनुसार पार्टी सभापति रवि लामिछानेसहितको नेतृत्व टोलीले सागर ढकाल डडेल्धुरामा कमजोर उम्मेदवार हुने निष्कर्ष निकाल्दै रुपन्देही–२ बाट चुनाव लड्न सुझाव दिएको थियो। तर त्यसपछि पनि ढकालले डडेल्धुराबाटै उम्मेदवारी दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिइरहेको अवस्थीको भनाइ छ।

‘पार्टीले अहिलेसम्म कसैलाई पनि उम्मेदवार घोषणा गरेको छैन,’ अवस्थीले भने, ‘तर सागर ढकालले बाहिर आफू डडेल्धुराबाटै उम्मेदवार हुनेजस्तो वातावरण बनाइरहनुभएको छ। यो मिडिया ट्रायल हो।’

डडेल्धुरामा जबर्जस्ती उम्मेदवार स्वीकार्य नहुने उल्लेख गर्दै उनले स्थानीय नेतृत्व र कार्यकर्ताको भावनालाई बेवास्ता गर्न नहुने बताए। साथै, सागर ढकाललाई पार्टी छोडेर स्वतन्त्र रूपमा डडेल्धुराबाट चुनाव लड्ने विकल्प पनि रहेको उनको भनाइ छ।

‘हामी डडेल्धुराकै सक्षम व्यक्ति छौं। यहाँ काम गरेका, यहाँका जनताले चिनेका व्यक्ति नै उम्मेदवार हुनुपर्छ,’ उनले भने, ‘उसले आफ्नै ठाउँमा गएर चुनाव जित्नुपर्छ, काम गर्नुपर्छ।’ आफ्नो दाबेदारी पनि बलियो रहेको बताउँदै अवस्थीले भने, ‘सागर ढकालजत्तिकै दाबेदारी मेरो पनि छ। म नै उम्मेदवार हुँ। ढकालले बाहिर जे भने पनि अन्तिम निर्णय पार्टीबाटै हुन्छ।’

 

 

कमेन्ट लोड गर्नुस