सुदूरपश्चिममा भूकम्प सुरक्षा दिवस: भूकम्पीय र आगलागीजन्य विपदको कृत्रिम अभ्यास प्रदर्शन
धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रूपमा मनाइएको छ। “सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रदेशका विभिन्न सुरक्षा निकायहरूले भूकम्पीय र आगलागीजन्य विपदको संयुक्त कृत्रिम घटना अभ्यास पनि सञ्चालन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले भूकम्प तथा अन्य विपदका चुनौती र त्यसबाट सिर्जित जोखिमका बाबजुत प्रदेश सरकारले विपद जोखिम न्युनिकरण र पूर्वतयारीका क्षेत्रमा नियमित बजेट विनियोजन गर्दै आएको बताए। थप स्रोतसाधनको परिचालन प्रथमिकीकरण गरि विपद जोखिम संवेदनशील विकासमा समेत केन्द्रित हुनु आवश्यक रहेको उनले बताए।
‘हामीले विपदको पुर्व तयारीका साथै विपद जोखिम संवेदनशील विकासमा समेत केन्द्रित हुनु आवश्यक छ।’ उनले भने, ‘भुकम्प प्रतिरोधि संरचना, सुरक्षित आवास,विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक पुर्वाधार तथा आर्थिक परियोजनाहरुमा विपद सहनशीलताको एकीकरण अनिवार्य आवश्यकता भएको छ।’
आर्थिक मामिला मन्त्रालय विपद जोखिम न्युनिकरणका लागि पर्याप्त बजेट विनियोजन, मन्त्रालयहरुबिचको समन्वय सुदृृढिकरण, विकास साझेदारहरुको परिचालन तथा निजि क्षेत्रको सहभागिता प्रवर्धन गर्न प्रतिवद्ध रहेको उनले उल्लेख गरे।
राष्ट्रिय भुकम्प सुरक्षा दिवस सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्कीको सभाध्यक्षतामा आयोजना गरिएको हो। मन्त्री सार्कीले कृत्रिम घटना अभ्यासको माध्यमबाट उद्धार कार्यमा आत्मविश्वास र मनोबल बढाउने अवसर प्रदान भएको बताए। उनले सबै तहका निकायले आपत्कालीन अवस्थामा सक्रिय भुमिका निर्वाह गर्नुपर्ने र नागरिकहरूलाई व्यक्तिगत सुरक्षा व्यवस्थामा ध्यान दिन आग्रह गरे।
कार्यक्रममा भुकम्प र आगलागीजन्य विपदको कृत्रिम घटना अभ्यास पनि गरिएको थियो। सो अभ्यासको माध्यमबाट सुरक्षा निकायहरूको समन्वय क्षमता, प्राथमिक उपचार, राहत वितरण र आपतकालीन संचार व्यवस्थापन जस्ता महत्त्वपूर्ण पक्षको प्रदर्शन र परिक्षण गरिएको छ।
भूकम्पीय र आगलागीजन्य विपदको कृत्रिम घटना अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतका सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना, आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन कार्यक्रम, समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम लगायतका संस्थाहरूको संयुक्त सहभागिता रहेको थियो। अभ्यास अन्तर्गत भूकम्पपछि उद्धार र प्राथमिक उपचार, आगो नियन्त्रण र राहत सामग्री वितरण जस्ता गतिविधिहरूको वास्तविक प्रदर्शन गरिएको थियो।