प्रदेशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना,माघ ६ गते उम्मेदवारी दर्ता
धनगढी: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
सार्वजनिक कार्यक्रमअनुसार माघ ६ गतेदेखि विभिन्न चरणमा निर्वाचनसम्बन्धी काम कारबाही अघि बढाइने भएको छ।
आयोगका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ। सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ। उम्मेदवारी दर्तापछि माघ ६ गते नै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
कार्यक्रमअनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ। माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ।
यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी तीव्र पारिएको आयोगले जनाएको छ।
निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार–प्रसार र संगठन विस्तारमा सक्रिय हुने देखिएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का लागि धनगढीस्थिति स्वास्थ्य तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। कैलाली जिल्लाका जिल्ला न्यायाधीश भुवनसिंह थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका हुन्। प्रदेशका सबै निर्वाचन क्षेत्रमा शुक्रवार नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छन्।
कार्यक्रममा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्ट र सुरक्षा निकायका प्रमुखहरूको उपस्तिथि रहेको थियो।
प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले शुक्रवार प्रदेश का सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताए।