थारु समुदायको नयाँ वर्ष माघी: पहिचान, परम्परा र स्वतन्त्रताको उत्सव
धनगढीः थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाइने माघी पर्व केवल चाड मात्र नभई सांस्कृतिक पहिचान, सामाजिक एकता र स्वतन्त्रताको अनुभूतिको प्रतीक हो। सूर्य उत्तरायण प्रवेश गर्ने यस पावन दिनदेखि तराईका थारु बस्तीहरूमा पाँच दिनसम्म स्नान, दान, पूजा, खानपिन र रमाइलोका साथ माघी मनाइन्छ।
माघीको बिहानै थारु समुदायका मानिसहरू नजिकका नदी, पोखरी वा जलाशयमा गई स्नान गर्छन्। स्नानपछि पूजा–अर्चना गरी घरका ठूला–बडासँग आशिर्वाद लिने चलन छ। यो दिनलाई पवित्र र शुभ मानिने भएकाले धेरैले तीर्थ यात्रा गर्ने वा गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने परम्परा पनि रहेको छ।
माघीको साँझ घरआँगनमा ठूला मुढा बालेर ‘धुनी’ जगाइन्छ। धुनीको वरिपरि परिवारका सदस्य र पाहुना भेला भएर खानपिन, गीत–संगीत र रमाइलो गर्छन्। यस दिनदेखि पाँच दिनसम्म आफू स्वतन्त्र भएको अनुभूति गर्ने विश्वास थारु समुदायमा छ, जसले माघीलाई सामाजिक र मानसिक स्वतन्त्रताको पर्वका रूपमा पनि चिनाउँछ।
धार्मिक विश्वासअनुसार माघीका दिन श्राद्ध कर्म गर्न विशेष महत्व दिइन्छ। तिलसँग जोडिएका ६ प्रकारका कर्मः-तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन, तिल दान र तिल खानु—गरेमा जीवनमा असफलता नआउने जनविश्वास छ। तिलको तेल घस्दा शरीरको तापक्रम बढेर जाडो कम हुने वैज्ञानिक मान्यता पनि यससँग जोडिएको छ।
माघी पर्वको अर्को महत्वपूर्ण पक्ष सामाजिक व्यवस्थापन हो। यसै दिन गाउँका मुखिया, महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदारलगायत विभिन्न जिम्मेवारीका पदहरू आपसी सहमति वा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट छनोट गरिन्छ। सहमति नहुने स्थानमा मतदानमार्फत पदाधिकारी चयन गरिन्छ, जसले थारु समुदायको सामूहिक निर्णय र लोकतान्त्रिक अभ्यासलाई उजागर गर्छ।
खानपिनको हिसाबले माघीमा चामल र मासको दालबाट बनाइएको खिचडी विशेष रूपमा खाने चलन छ। यही कारणले कतिपय स्थानमा माघीलाई ‘खिचडी पर्व’ पनि भनिन्छ। परम्परागत खानाले चाडलाई अझै आत्मीय र सामुदायिक बनाएको छ।
यसरी माघी पर्व थारु समुदायका लागि नयाँ वर्षको सुरुवात मात्र होइन, आफ्ना संस्कार, परम्परा र सामाजिक संरचनालाई पुनः स्मरण गर्ने अवसर हो। पुस्तौंदेखि चल्दै आएको यो पर्वले थारु समुदायको पहिचानलाई जीवित राख्दै आपसी सद्भाव र एकतालाई मजबुत बनाउँदै आएको छ।