कञ्चनपुरमा लागूऔषधसहित तीन युवक पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाबाट लागूऔषधसहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साँझ करिब ८ बजे बेलौरी नगरपालिका–८ बुढीयाघाट क्षेत्रमा शंकास्पद रूपमा रहेका कैलाली गोदावरी नगरपालिका–१ विजयनगर निवासी २२ वर्षीय पारस पार्की, २८ वर्षीय केशव कुञ्जेडा र २५ वर्षीय रोहित कामीलाई प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा पारस पार्कीको साथबाट ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । फेला परेको लागूऔषधसहित तीनै जनालाई प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।