देशभर ८ लाख बालबालिका विद्यालयबाहिर
काठमाडौँ: देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्य सार्वजनिक भएको छ। तीमध्ये ५० प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन् भने बाँकी ५० प्रतिशतले पढाइ बीचमै छाडेका छन्।
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत ‘नेपालमा शिक्षा र समावेशिता’ विषयक प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गर्दै उक्त तथ्य उजागर गरेको हो। विद्यालय नजाने तथा बीचमै छाड्ने बालबालिका भौगोलिक रूपमा विकट जिल्ला र न्यून आयस्तर भएका सीमान्तकृत समुदायमा बढी देखिएको प्रतिवेदनमा उल्लेख छ।
विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर पाँच वर्ष र माध्यमिक तहमा प्रवेश गर्ने १० देखि १४ वर्ष उमेर समूहमा उच्च देखिएको छ। विशेष गरी कक्षा ५ पछि विद्यालय छोड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको तथ्याङ्क कार्यालयले जनाएको छ। प्रादेशिक रूपमा हेर्दा कहिल्यै विद्यालय नगएका बालबालिकाको हिस्सा करिब ६० प्रतिशत रहेको छ। गण्डकी प्रदेशमा भने किशोरावस्थामुनिका बालबालिकामध्ये विद्यालयबाहिर रहनेको अनुपात पाँच प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार मधेशी, दलित, भाषिक तथा अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्छन्। ती समुदायको तुलनामा पहाडी जातजाति र जनजातिमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या कम रहेको छ। त्यस्तै पाँच वर्षभन्दा माथिका व्यक्तिको साक्षरता दर ७६।२ प्रतिशत पुगेको छ, जसमा पुरुषको साक्षरता ८३।६ प्रतिशत र महिलाको ६९।४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
घट्दो बालबालिकाको अनुपात
राष्ट्रिय जनगणना २०७८ अनुसार २९ प्रतिशत घरपरिवारमा १८ वर्षमुनिका बालबालिका नरहेको देखिएको छ। तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिवेदनमा ७१ प्रतिशत घरपरिवारमा भने कम्तीमा एक जना बालबालिका रहेको उल्लेख छ।
राष्ट्रिय जनगणना २०५८ मा बालबालिकाको अनुपात ४६ प्रतिशत रहेकामा २०६८ मा ४२ प्रतिशत र २०७८ मा घटेर ३४ प्रतिशतमा झरेको छ। हाल नेपालको कुल जनसङ्ख्यामा ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेका छन्, जुन कुल जनसङ्ख्याको ३४ प्रतिशत हो। बालबालिकाको अनुपात तुलनात्मक रूपमा बागमती र गण्डकी प्रदेशमा कम देखिएको छ। घरपरिवारको अनुपातमा बालबालिका सबैभन्दा धेरै कर्णाली प्रदेशमा ८१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा ६२ प्रतिशत रहेको जानकारी कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले दिएका छन्।
गोरखापत्रबाट साभार