धनगढीमा सिप तथा रोजगार मेलाको तयारी तीव्र, ३ हजार ८ सयभन्दा बढी आवेदन
धनगढीः धनगढी उपमहानगरपालिकाले माघ ५ गतेदेखि सञ्चालन गर्न लागेको सिप तथा रोजगार मेलाको तयारी तीव्र पारिएको छ। मेलाका लागि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका छन्। हाल आवेदकहरू छनोटका लागि अन्तर्वार्ता प्रक्रिया जारी रहेको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिएका छन्।
उनका अनुसार यस वर्ष सिप तथा रोजगार मेलाअन्तर्गत ७ वटा क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ भने कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ। तालिम विहानी सिफ्टमा बिहान ८ बजेदेखि दैनिक ६ घण्टा सञ्चालन हुनेछ।
आवेदकमध्ये सबैभन्दा धेरै सहभागी एड्भान्स ब्युटिसियन तालिमतर्फ आकर्षित देखिएका छन्। संयोजक महराका अनुसार युवायुवतीहरूको सीप विकाससँगै रोजगारीमा सहज पहुँच पु¥याउने उद्देश्यले तालिमका विषय छनोट गरिएको हो।
आवेदन दिनेहरूमध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेका छन्। सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जनाइएको छ, जसले स्थानीय स्तरमै सीप र रोजगारीप्रति बढ्दो चासो देखाएको छ।
तलिमको अवधि ३० दिनको हुनेछ। त्यसपछि थप १० दिन रोजगारीमा जान इच्छुक सहभागीहरूका लागि रोजगार परामर्श कार्यशाला सञ्चालन गरिनेछ भने आफ्नै पेशा वा व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिनेछ। तालिम पश्चात् रोजगारदाता सम्मेलन आयोजना गरिने संयोजक महराले जानकारी दिए। सम्मेलनमार्फत रोजगारीको खोजीमा रहेका प्रशिक्षार्थीहरू र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबीच प्रत्यक्ष समन्वय गराइनेछ।
यसैबीच, धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका आवेदकहरू समेटिने गरी निष्पक्ष छनोट प्रक्रिया अघि बढाइएको बताइन्। उनका अनुसार गत वर्ष तालिम लिएका सहभागीहरूमध्ये करिब ५० प्रतिशतले रोजगारी प्राप्त गरेका थिए। सो उपलब्धिले यस वर्ष कार्यक्रमलाई अझ प्रभावकारी बनाउने हौसला दिएको उनको भनाइ छ।
महिला आवेदकको संख्या उल्लेख्य रूपमा बढी रहेकाले कार्यक्रमले महिलाको आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उपमेयर रानाले व्यक्त गरिन्।
सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुलामञ्चमा सञ्चालन हुनेछ। हाल मेला स्थलमा टेन्ट व्यवस्थापन, तालिम कक्ष निर्माण, दर्ता कक्ष, सूचना डेस्क, विद्युत् तथा सरसफाइ व्यवस्थापनलगायत भौतिक तथा प्राविधिक तयारीका काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाले जनाएको छ। आयोजकका अनुसार मेला सफल रूपमा सम्पन्न गर्न सबै आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।