नेशनल प्याब्सन कैलालीको २८ औँ स्थापना दिवसमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित
धनगढी: राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेशनल प्याब्सन) कैलालीले आफ्नो २८ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ।
आइतबार पृथ्वी जयन्ती तथा नेशनल प्याब्सनको स्थापना दिवसको अवसर पारेर संघले विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजना गरेको हो।
नेशनल प्याब्सन कैलालीका अध्यक्ष ललित साउदका अनुसार शनिबार र आइतबार गरी दुई दिनसम्म विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गरिएका थिए। ती कार्यक्रमअन्तर्गत एकीकृत पाठ्यक्रमसम्बन्धी दुई दिने कार्यशाला पनि आयोजना गरिएको थियो।
प्रधानाध्यापकको आचारसंहिता र संकटकालीन नेतृत्व: विद्यालय नेतृत्वका आधार र परीक्षा विषयमा केन्द्रित रही एकीकृत पाठ्यक्रमसम्बन्धी कार्यशाला तथा छलफल कार्यक्रम गरिएको अध्यक्ष साउदले जानकारी दिए। उक्त कार्यशालामा गणित शिक्षा परिषद् राष्ट्रिय कार्यसमितिका अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षणमा सहजीकरण गरेका थिए।
त्यसैगरी स्थापना दिवसको अवसरमा नेशनल प्याब्सनमा आबद्ध कैलाली जिल्लाका उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने निजी तथा आवासीय विद्यालयहरू र विद्यार्थीहरूलाई सम्मान गरिएको छ।
सम्मानित हुने विद्यालयहरूमध्ये वि.सं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई कैलाली जिल्लामै प्रथम स्थान हासिल गर्न सफल धनगढी उपमहानगरपालिका–१३ स्थित किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुललाई सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ।
त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल वर्दगोरिया गाउँपालिका–२ स्थित नवलपुर बालवाटिका विद्या मन्दिरलाई द्वितीय, ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–५ स्थित एक्सेस विद्याश्रमलाई तृतीय, ९६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल घोडाघोडी नगरपालिका–१० स्थित पायोनियर स्कलर्स एकेडेमीलाई चौथो र ९४.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी एकेडेमीलाई पाँचौँ उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ।
त्यस्तै नेशनल प्याब्सनबाट सम्मानित हुने विद्यार्थीहरूमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा समग्रमा ४.० जिपिए प्राप्त गरी कैलाली जिल्लामा प्रथम स्थान हासिल गर्न सफल घोडाघोडीको पायोनियर स्कलर्स एकेडेमीकी छात्रा रक्षा बुढा रहेका छन्।
त्यसैगरी समान ३.९६ जिपिए प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल टिकापुर नगरपालिका–१ स्थित रेडियन्ट इङ्गलिस स्कुलकी छात्रा अनुका चौधरी, धनगढीको एक्सिस विद्याश्रमकी छात्रा माला शर्मा तथा धनगढीको किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुलकी छात्रा तनुसा भण्डारी रहेका छन्।
समान ३.९१ जिपिए प्राप्त गरी तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूमा घोडाघोडीको पायोनियर स्कलर्स एकेडेमीका छात्र नबिन अवस्थी, टिकापुरको रेडियन्ट स्कुलकी छात्रा सरोजा चौधरी, घोडाघोडीको पायोनियर स्कलर्स एकेडेमीका छात्र सागर आचार्य तथा धनगढीको फूलबारी एकेडेमीका छात्र अभिनभ चापागाईं रहेका छन्।
त्यसैगरी ३.८५ जिपिए प्राप्त गरी चौथो स्थान हासिल गर्न सफल फूलबारी एकेडेमीकी छात्रा सुस्मिता चौधरी र ३.८३ जिपिए प्राप्त गरी पाँचौँ स्थान हासिल गर्न सफल किङ्गफिसर स्कुलका छात्र विवेक अवस्थी रहेका छन्।
उनीहरूलाई आइतबार धनगढीमा आयोजित एक औपचारिक कार्यक्रमबीच सम्मान प्रदान गरिएको हो।
स्थापना दिवसको औपचारिक कार्यक्रम नेशनल प्याब्सन कैलाली जिल्लाका अध्यक्ष ललित साउदको सभापतित्व तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तेजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।