दिल्ली विश्वविद्यालयको किरोरी मल कलेज र कैलाली बहुमुखी क्याम्पसबीच शैक्षिक सहकार्य गर्ने सम्झौता
धनगढीः भारतको दिल्ली विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित किरोरी मल कलेज र सुदूरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
यस सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन शैक्षिक सहकार्यको औपचारिक आधार तयार गरेको छ । सम्झौतापत्रमा कैलाली बहुमुखी क्याम्पसका प्रमुख सह–प्राध्यापक डा. लोकबहादुर बिष्ट र किरोरी मल कलेज, वाणिज्य विभागका प्राध्यापक डा. पुष्पेन्द्र कुमारले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, शैक्षिक तालिम, सेमिनार, कार्यशाला तथा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ । सम्झौतापत्रमा शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा प्रकाशनमा सहकार्य, शैक्षिक अनुभव र ज्ञानको आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ। यस सहकार्यले कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तथा प्राध्यापकलाई अन्तर्राष्ट्रिय शैक्षिक वातावरणसँग जोड्ने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा.लोक बहादुर बिष्टले बताए।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न भएको होे। कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू सह–प्राध्यापक डा. मोहनसिंह साउद, सह–प्राध्यापक डा.शिवप्रसाद सापकोटा र सह–प्राध्यापक डा. घनश्याम भट्ट सहित सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति प्राध्यापक डा.राजेन्द्रबीर चन्द र विभिन्न विभागका प्रमुख तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो।
क्याम्पस प्रमुख डा.बिष्टले आवश्यक शैक्षिक र प्राज्ञिक स्रोतहरुको व्यवस्थाका लागि उक्त सम्झैता महत्वपुर्ण रहेको बताए। ‘कैलाली बहुमुखी क्याम्पसका लागि यो निकै सुनौलो र महत्वपुर्ण अवसर हो’ उनले भने, ‘हामीले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय विश्वविद्यालयका कलेजहरुसंग पनि सम्झौता गरेर प्राध्यापक आदानप्रदान र उहाँहरुको उन्नयनका लागि वृहत्तर रुपमा सोचिरहेका छौँ’
किरोरी कलेजका प्राध्यापक डा. पुष्पेन्द्र कुमारले सम्झौता कार्यान्वयन गर्दै चाँडै नै कैलाली बहुमुखी क्याम्पसलाई विभिन्न माध्यमबाट विद्यार्थी र प्राध्यापकहरुका लागि स्रोतहरु उपलब्ध गराउँदै निरन्तर सहकार्य गर्ने बताए।
उक्त समझदारीले दुबै संस्थाबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ गर्दै प्राज्ञिक सहकार्य, अनुसन्धान र नवप्रवर्तनको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।