सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा डाक्टर मोहनसिंह साउँद सम्मानित

२०८२ पुष २५, ०६:०० खबर संवाददाता

धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर मोहनसिंह साउँदलाई 'चैतन्य उत्कृष्ट शिक्षा सेवी सम्मान' प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेशमै रहेर उच्च शिक्षाको क्षेत्रमा निरन्तर शिक्षण, अनुसन्धान तथा शैक्षिक मार्गदर्शनमार्फत विद्यार्थीहरूको बौद्धिक, नैतिक तथा व्यावहारिक विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट साउँदलाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डाक्टर चिन्तामणिनाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन्।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख साउँदले लामो समयदेखि शिक्षण पेसामा समर्पित रहँदै शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवद्र्धन तथा विद्यार्थीमैत्री शिक्षण वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। कक्षाकोठामा मात्र नभई सामाजिक चेतना, नैतिक मूल्य र व्यवहारिक सीप विकासमा समेत विद्यार्थीलाई मार्गदर्शन गर्दै आएको योगदान समाजका लागि उदाहरणीय बनेको छ।

सम्मान ग्रहण गर्दै साउँदले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी बढाएको अनुभूति भएको बताउँदै भविष्यमा पनि शिक्षा, अनुसन्धान र विद्यार्थी हितका कार्यमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'शिक्षा केवल डिग्री प्राप्त गर्ने माध्यम होइन, यो चरित्र निर्माण र समाज रूपान्तरणको आधार हो। यदि हामीले गुणस्तरीय शिक्षा र नैतिक मूल्यलाई सँगै अघि बढाउन सक्यौँ भने समाजमा दिगो परिवर्तन सम्भव हुन्छ।'

उनले सुदूरपश्चिमजस्तो क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तार गर्न अझ धेरै सहकार्य, लगनशीलता र नीतिगत समर्थन आवश्यक रहेको उल्लेख गर्दै युवा पुस्तालाई अध्ययन, अनुसन्धान र सृजनशील सोचतर्फ केन्द्रित हुन आग्रह गर्दै चैतन्य पाठशालाले गदै गरेको यो कार्य शिक्षा क्षेत्रमा एक ठुलो सकारात्मक आयाम भएको बताए ।

विद्यालय स्तरदेखि क्याम्पस तहसम्म शिक्षामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नु विद्यार्थीमा शिक्षा प्रतिको सम्मान र प्रेरणा बढाउने महत्त्वपूर्ण माध्यम भएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए। डाक्टर साउँदजस्ता शिक्षकहरू विद्यार्थीका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाका स्रोत भएको समेत उनले बताए।

चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, साहित्यिक कार्यक्रम तथा विभिन्न प्रतिभा प्रदर्शनका गतिविधिहरू सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, अनुसन्धान, सामाजिक सेवा, प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

कमेन्ट लोड गर्नुस