सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको वन क्षेत्रमा अनियमितता मौलायो, कर्मचारी नै चलखेलमा लिप्त

फाईल फोटो/धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई पक्राउ गर्दा
फाईल फोटो/धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई पक्राउ गर्दा
२०७६ साउन २८, ०६:३८ कमल सावद

अतिक्रमणको चपेटामा परेको सुदूरपश्चिमको वन क्षेत्रमा आर्थिक अनियमितता पनि मौलाउँदै गएको छ। वन कर्मचारीकै मिलोमतोमा प्रदेशको वन क्षेत्रमा आर्थिक अनियमितता मौलाएको हो। प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय खुलेपछि वन क्षेत्रमा अनियमितता गरेको भन्दै वन कर्मचारी नै पक्राउ परेका छन्। तर पनि वन क्षेत्रमा आर्थिक अनियमितता घट्नुको सट्टा बढ्दै गएका छन्। अख्तियारले पनि अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा भईरहेको आर्थिक अनियमिततामाथि निगरानी राख्न नसकेको गुनासो गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय स्थापना भएदेखि अहिले सम्म ५ जना वनका कर्मचारी र एउटा सहयोग गर्ने बिचौलीया घुस रकम सहित पक्राउ परेका छन्। स्थापना कालदेखि तीन जना सहायक वन अधिकृत, रेन्जर, फरेस्टर र बिचौलिया एक-एक जना अख्तियारको टोलीले ६ जनालाई रंगेहात घुस रकम सहित पक्राउ गरि मुद्दा चलाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार अहिले सम्म साविकको सेक्टर वन कार्यालय बल्चौरका सहायक वन अधिकृत राजकुमार मल्ल, रेञ्जर बाबुराम मिजार, सेक्टर वन कार्यालय भजनीका फोरेस्टर हरिश चन्द्र कुमार, धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भरत साह र डोटीको वीपीनगर सव–वन भिडिजन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डिसी अख्तियारको टोलीले पक्राउ गरेको छ।

वनमा कुनै पनि किसिमका अवैध कार्य भए मिलाईदिने भन्दै वन कर्मचारीले घुस लिने गरेको भेटिएको उनले बताए। अवैध रुख कटानी, काठ तस्करी लगायतका विषयमा वन कर्मचारीहरुले बार्गेनीङ गर्दै अनियमितता गर्न थालेका हुन्। जस्ले गर्दा वन कर्मचारीकै कारण सुदूरपश्चिमको वन क्षेत्र असुरक्षित हुन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख शिवकुमार कार्कीले सुदूरपश्चिममा अख्तियारको कार्यालय स्थापना भएदेखि ६ जना पक्राउ परेपनि वन क्षेत्रमा अन्य उजुरी भने धेरै रहेको र अनुसन्धानको क्रममा रहेको जानकारी दिए। 

अहिले सम्म सुदूरपश्चिममा सबैभन्दा बढि स्थानीय तह, त्यसपछि शिक्षा र तेश्रो नम्वरमा वन क्षेत्रमा अनियमिताता मौलाएको भन्दै अख्तियारमा उजुरी परेको उनले बताए। वनका कर्मचारीहरु नै भ्रष्टाचारको आरोेपमा पक्राउ परेका बेला वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने कार्यालयको नभई केही व्यक्तिहरुको कारण वन क्षेत्र बदनाम भईरहेको बताए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस