स्वास्थ्य बिमामा कार्यक्रममा साढे तीन हजार नागरिक आबद्ध
डडेलधुराः स्वास्थ्य बिमा कार्यक्रममा डडेलधुराका करिब साढे तीन हजार नागरिक समेटिएका छन्। एक लाख ४२ हजारभन्दा बढी जनसङ्ख्या रहेको डडेलधुरामा ३० हजार ४१५ जना मात्र स्वास्थ्य बिमामा आबद्ध भएका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ६०२ रहेको छ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सङ्ख्या केही बढी रहेको छ भने सबैभन्दा बढी बिमित अमरगढी नगरपालिकामा रहेका छन्। स्वास्थ्य बिमा बोर्ड डडेलधुराका दर्ता अधिकारी जयसिंह साउदका अनुसार बिमा कार्यक्रममा १४ हजार ४६० पुरुष र १५ हजार ९५५ महिला आबद्ध भएका छन। स्थानीय तहगत तथ्याङ्क अनुसार सबैभन्दा बढी बिमित अमरगढी नगरपालिकामा रहेका छन्। अमरगढी नगरपालिकामा १३ हजार ७८२ जना बिमा कार्यक्रममा आबद्ध भएका छन्। जसमा छ हजार ७७८ पुरुष र सात हजार चार जना महिला छन।
भित्री मधेशको परशुराम नगरपालिकामा चार हजार ३२७ जना बिमित छन्। त्यसमध्ये दुई हजार ५५ पुरुष र दुई हजार २७२ महिला रहेका छन्। आलीताल गाउँपालिकामा एक हजार २७३ जना स्वास्थ्य बिमामा आबद्ध छन्। अजयमेरु गाउँपालिकामा दुई हजार ६५४ जना बिमा कार्यक्रममा आबद्ध भएका छन। भागेश्वर गाउँपालिकामा एक हजार ३४४ जना बिमित रहेका छन्। गन्यापधुरा गाउँपालिकामा तीन हजार ३०७ जना स्वास्थ्य बिमामा आबद्ध छन्। नवदुर्गा गाउँपालिकामा बिमा गर्नेको सङ्ख्या तीन हजार ७२८ पुगेको छ।
अझै पनि कतिपयले स्वास्थ्य बिमाको महत्व नबुझ्दा बिमामा समेटिन नसकिरहेको दर्ता अधिकारी साउदले बताए। स्वास्थ्य बिमामा नागरिकको पहुँच बढाउने उद्देश्यले हरेक वडामा दर्ता सहयोगीसमेत रहेको उहाँले जानकारी दिए।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक तीन हजार पाँच रुपियाँ प्रिमियम तिरेपछि एक घरका पाँच जनासम्मले वर्षमा एक लाख रुपियाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारका हकमा थप एक जनाका लागि सात सय रुपियाँ प्रिमियम तिरेमा २० हजार रुपियाँ बराबरको अतिरिक्त सेवा लिन सकिने प्रावधान छ।