प्रतिनिधि सभा निर्वाचनको माहोल : बैतडीमा चहलपहल बढ्दो
बैतडीः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका सम्भावित उम्मेद्वारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेद्वार बन्ने तयारीमा रहेका नेताहरू गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग भेटघाट, छलफल तथा स्थानीय समस्या सुन्ने र उठाउने कार्यमा व्यस्त देखिन्छन्। नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले आन्तरिक छलफल, भेला तथा सभा सञ्चालन गरिरहेका छन्।
नेपाली काँग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सभापति चतुरबहादुर चन्दलाई सर्वसम्मत रूपमा उम्मेद्वार सिफारिस गरेको छ। यस्तै, नेकपा (एमाले) बैतडीले केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेद्वारका रूपमा सिफारिस गरेको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्रबहादुर चन्दको नाम सिफारिस भएको छ। नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारको भने हालसम्म टुङ्गो लाग्न नसकेको जनाएको छ।
पछिल्लो समय सहरदेखि गाउँसम्म निर्वाचनलाई लिएर चर्चा, परिचर्चा र बहससमेत बढ्न थालेको छ। यसैबिच, जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन केन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको जनाएको छ। निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए।
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन्। यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा एक सय २९ मतदानस्थल कायम गरिएको छ भने मतदान केन्द्रको सङ्ख्या २ सय १४ पुगेको छ। अघिल्लो निर्वाचनमा जिल्लामा २ सय १० मतदान केन्द्र रहेका थिए। सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, वडा नं ९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला तथा पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा नयाँ मतदान केन्द्र थप गरिएको निमित्त प्रमुख जोशीले जानकारी दिए।
यसैबिच निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई पनि तीव्र बनाएको छ। स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको जनाइएको छ।
गाेरखापत्रबाट साभार