सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ र दार्चुलाको सीमानामा देशकै ठूलो सुर्माभवानी जात्रा सुरु

२०७६ साउन २६, ०७:०२ नरेन्द्र कार्की

देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको जात्रा सुरु भएको छ। दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ। सुर्मा भवानी जात्रा ओँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने  गरिन्छ। अपिहिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङ जिल्लाको सुर्मा सरोवरको सीमा सम्म यो जात्रा मनाइने गरिन्छ। उच्च हिमश्रृखंलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्व रहेको छ। 

सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलए भएको मान्यता रहेको छ। सोही कारण सुर्मा तालममा अपि हिमालको खण्डेश्वरीबाट जाने तिर्थालुहरुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तिर्थालुहरुले पूजागर्ने चलन रहेको इतिहासका जानकार तुङ्काध्वोज बोहरा बताए। सुर्मासरोवर जात्रा छ हजार पाँ सय २३ मिटर उचाईमा गएर मनाउने गरिन्छ। जात्राको लागि क्षेत्त पूख्र्याैली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तिर्थालुहरुले औषीदेखिनै एक छाक मात्र खाएर सुर्माभवानीको ब्रत बस्नुपर्ने परम्परा छ। सुर्मासरोवर तिर्थ जाने ब्रतालु भक्तहरुलाई बीरे भनिन्छ। बीरे दुई प्रकारका हुन्छन्। जसमा पहिलो पटक जानेलाई बालो विरे र पटक पटक गएकालाई बुढोबीरे भन्ने चलन छ।

 

जसअनुसार सहभागि हुने क्षेत्ति घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनहरुलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनहरुलाई उनादेशी, तथा खण्डेश्वरी भित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ। सूर्मा भवानी जात्रामा सहभागि हुने भक्तजनहरुलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु रक्सी जस्ता भोजन निषेध गरिएको छ।

 

जात्रालाई मनाउन स्थानीय क्लव तथा संघ संस्थालाई परिचालन गरिएको अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए। गाउँपालिकाले समेत जात्रा व्यवस्थापनमा सहयोग गरेको छ। नेपालकै इतिहासमा यति लामो जात्रा कहि छैन्, गाउँपालिका अध्यक्ष मन्यालले भने, यति लामो जात्राको बारेमा प्रचारप्रसार भएको छैन्। दुई देशको सामरिक महत्व बोकेको जात्रालाई अझै मर्यादित बनाउन गाउँपालिकाले गुरुयोजना अनुसार काम अघि बढाएको उनले बताए। विशेष जात्रा मनाइने भएको कारण क्षत्ति घाजिर वस्तीलाई नमूना बस्तीको रुपमा विकास गर्न गुरुयोजना निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष मन्याल बताए। 

पहिलो दिन : जात्राको विधिवत सुरुवात मान्ने औसीको दशौँ दिनदेखि सुरु हुन्छ। यो दिनलाई रतेडि भनिन्छ। उवादेशी यात्रीहरू पहिलो दिन क्षेत्तीमा जम्मा हुन्छन् भने उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा जम्मा हुन्छन्। राती सुर्माभवानीको मण्डपमा जम्मा भएर सबै देवीदेवताहरूको पूजाआजा गरि धामीहरू काप्ने र रङ्गीचंगी गर्ने (रमाइलो गर्ने) अथवा देउधमेउलो पूजापाठ गर्ने गरिन्छ। देउधमेउलो सकिएपछि देवी सुर्माभवानीको चैत गाउने चलन छ। त्यसपछि भाडिखेल लगाउने गरिन्छ। वालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जाँदा वीरेलौरो बोक्नुपर्दछ। यो लौरो बुढोवीरे र वालोवीरेको भिन्न भिन्न बनाइएको पाइन्छ। उवादेशी तथा उनादेशीले ६ फिट लामो निङ्गालाको लौरा बोक्नु पर्छ र वाइदेशी ४ दशमलव ५ फिटको लौरो बोक्नु पर्दछ। जात्रालाई व्यवस्थित ढङ्गले संचालन गर्न एक जना मुला अथवा जात्राको मूली नेतृत्व हुन्छ। त्यसको लौरो ७ दशमल ५ फिटको हुन्छ। यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भन्ने गरिन्छ। 

दोस्रो दिन : जात्राको दोस्रो दिन सोमबार घाजिरबाट यात्रुहरू क्षेत्ती गाउँ जाने गर्छन्। यो जात्रामा जुत्ता लगाउने, छाता ओढ्न पाइदैन्। भाङ्गोको दोचा (जुत्ता) बनाएर लगाउने गरिन्छ। यो दिन वीरेहरू तथा यात्रुहरू ढाको (बाजा) बजाएर चाँहै (स्थानीय भाषाको गीत) खेल्दै जाने गर्दछन्। जात्रा शुरु हुँदा क्रमबद्ध शुरुमा निशान (झण्डा) त्यसपछि धामी (झाक्री) ढाके, पूजारी, मुला र वीरेहरू जानेगर्छन् । घाजिरबाट गएका यात्रुहरुलाई स्वागत गर्न क्षेत्तीबाट पनि बाजागाजासहित देउताको नाँच गानासहित जय जयकार गर्दै आउने गर्छन्। उनीहरुको क्षेत्तीको काना ढुँ–ढुँ भन्ने ठाउँमा भेट गर्ने परम्परा रहेको छ। 

तेस्रो दिन : सुर्मा सरोवर जात्राको तेस्रो दिन वीरेहरू सुर्मा सरोवरको यात्रामा हिड्छन्। वीरेहरूलाई भवानीको भक्तको रूपमा स्थानीय भेषमा सिङ्गारपटार गरेर बिदाई गर्ने गरिन्छ। बाजागाजासहित सम्पूर्ण यात्रुहरूले तीर्थ जाने वीरेहरूलाई अक्षता र पाति चढाएर बिदाई गर्ने गरिन्छ। वीरेहरूलाई आधा बाटोसम्म ढाके, धामी तथा वीरेका लागि सहयोगीहरूले आधा बाटोसम्म पुर्याउने चलन छ। वीरेहरूले विशेष खाजा लाडुच्यूउडा, साकार गेडी बनाएर लिने गर्दछन्। जाँदा बाटोमा सुर्माभवानीको जयजयकार गर्दै उचेडा गाउने गर्छन। यो यात्रामा मुलाको निर्देशन बमोजिम अगाडि बढ्नु पर्दछ। यात्राको सुरुवात क्षेत्तीबाट हुन्छ र अन्निखाना, धरमघर, लाडुचढाउन, वीरेफट्टा ठडिउल, दुबै हुँदै वीरे ओडारमा गएर बास बस्ने गरिन्छ। यता वीरेहरूलाई बिदाई गरेपछि क्षेत्तीमा विभिन्न देवीदेवताको चैत, भाडिखेल, ढुस्को, डेउडा खेल्ने गरिन्छ भने ढाको बजाएर चाँहै खेल्दै रमाइलो गर्ने गरिन्छ।  

चौथो दिन : जात्राको यो दिन जात्राको सबैभन्दा महत्पूर्ण दिन हो। वीरेहरू विहानै नदीमा स्नानगरि व्रतबन्ध गर्दै सुर्मासरोवरको यात्रामा हिड्छन्। हात र खुट्टाको साहाराले हिड्दै सरोवरमा पुग्ने गर्दछन्। सुर्मासरोवर पुगेपछि सर्वप्रथम वीरेलौरोहरूलाई जल अर्पण गरेर त्यसपछि सरोवरमा चाँदीको डाँडी, सुनको टिलो तथा आपूmसँग लगेका चिना बानाहरू चढाउने गरिन्छ र व्रतवन्ध गर्ने श्राद्ध गर्ने, पिण्डदान गर्ने आदि कार्य गरि देवीको पूजापाठ गर्ने गरिन्छ। त्यसपछि सरोवरको किनार छेउमै देवीको चैत गाउने, भाडिखेल खेल्ने गरिन्छ। त्यसपछि सरोवरलाई बिदाई गर्दै वीरेहरू घर फर्कन्छन् र फेरि त्यही वीरे ओडारमा आएर बास बस्छन्। उता सरोवरमा क्षेत्तीतर्फका वीरेहरूले पूजाआजा गरिसकेपछि बझाङतर्फका सिकारीको भेषमा आएका तीर्थालुहरूले तालमा भाला फाल्दै पूजा आजा गरि घर   फर्कन्छन्। 

पाँचौ दिन : जात्राको पाँचौ दिन वीरेहरू वीरेओडारबाट विहानै उठेर आउने गर्दछन् र वीरेफट्टो भन्ने ठाउँमा आएर वालोवीरेहरू बीच दौड प्रतियोगिता हुन्छ। यो दौड पहाडमा उकालो दौड्नु पर्दछ। त्यसपछि फूलाभाडी भन्ने ठाउँमा विभिन्न किसिमका फूलहरू टिपेर ल्याउने गरिन्छ। खासगरी बरमकोइला भन्ने सुगन्धवाल फूल टिप्ने गरिन्छ र अन्निखाना भन्ने ठाउँको माला साट्ने बगरमा बसेर वीरेलौरोलाई सुरुमा सिंगारपटार गरेपछि वीरेहरूले आपूmले लगाउने माला उनेर लगाउने गरिन्छ। त्यसपछि क्षेत्तीबाट केही सहयोगीहरू र ढाके, धामीहरू बीच बाटोसम्म लिन जान्छन् र साझ क्षेत्तीमा भव्य स्वागतका साथ वीरेहरूलाई घर घरमा भित्र्याउने गरिन्छ र वीरेहरूले गङ्गामाटी (भवानीको प्रसाद) निधारमा लगाइदिने चलन छ। 

छैठौँ दिन : जात्राको छैठौँ दिन सबै तीर्थयात्रु वीरेहरू र यात्रुहरू घाजिर जाने गर्दछन् । यो दिन जात घाजिरमा पुगाउने गरिन्छ। यो दिन पनि सबै वीरेहरू, धामी, पूजारी, ढाके तथा सबै यात्रुहरू बाजा बजाउँदै नाचगान गर्दै, चाँहै खेल्दै घाजिर पुग्ने गर्दछन्। घाजिरबाट पनि भव्य स्वागत गरिन्छ र सुर्माभवानीको मण्डपमा पूजा आजा गरेर घर घरमा खाना खाएर कोही त्यही बस्दछन् भने क्षेत्तीका वीरेहरू, धामी पूजारी तथा यात्रीहरू त्यसै दिन राती क्षेत्ती फर्कन्छन् । भने घाजिरमा रातभरी भाडिखेल डेउडा खेल्दै रमाइलो गर्दै विताउँछन्। 

सातौँ दिन : यो दिन उवादेशी अथवा क्षेत्ती गर्खाका समुदायमा बस्ने वासिन्दाहरूले आफ्नो जेठो छोराको छैठ दिने चलन छ । यो दिन आफ्ना इष्टमित्रहरू वोलाएर भोज खुवाउे चलन छ। त्यसदिन छैठ दिनेले अनिवार्य कालीदेवीको मन्दिरमा बलि दिने चलन छ। किंवदन्ति अनुसार पहिला त्यस मन्दिरमा आफ्नो जेठो छोरा वा छोरीको वलि दिने गरिन्थ्यो तर अहिले त्यसको सट्टा वोकाको वलि दिने चलन रहेको छ। यस दिन छैठका गीतहरू गाउने चलन छ। यसरी सुर्माभवानीको जात्रा समाप्ति हुने गर्दछ। 

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस