धनगढीमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनगढीः आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीस्वरूप धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै प्रदेशस्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
बुधवार कार्यालयको कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। कार्यालय उद्घाटनसँगै राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यतालिकाको कार्यान्वयन, राजनीतिक दलहरूबीच समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापनलगायतका प्रक्रिया तीव्र पारिनेछ। उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको जानकारी दिए।
निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका चरणहरू अघि बढ्नेछन्।
यस निर्वाचनमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारका मतदाता सहभागी हुनेछन्। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाताका रूपमा निर्वाचनमा सहभागी हुनेछन्।
निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन नामावलीमाथि दाबी, विरोध तथा उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाइनेछ। पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ।
उम्मेदवारको मनोनयन पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।
कसको मतभार कति?
निर्वाचन आयोगले यस निर्वाचनका लागि प्रदेशगत मतभारसमेत सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल ६ हजार १५३ मतभार रहेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहनेछन्।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ तोकिएको छ। दलहरू छुट्टाछुट्टै रूपमा निर्वाचनमा सहभागी भएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस सबैभन्दा बलियो देखिएको छ।
काँग्रेसका १८ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी ८६ जना छन्। यसअनुसार कुल ६ हजार १५३ मतभारमध्ये काँग्रेसको मतभार २ हजार ५८८ पुगेको छ। दलगत मतभारका आधारमा दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी रहेको छ, जसको मतभार १ हजार ८६९ छ भने नेकपा एमालेको मतभार १ हजार ५३३ रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।
यस्तै धनगढी उपमहानरपालिकाका प्रमुख र बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष तथा रास्वपाका प्रदेश सभा सदस्य डाक्टर तारा जोशीको ९९ मतभार रहेको छ। प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी र एकजना स्थानीय तहका प्रतिनिधि निलम्वित रहेको निर्वाचन आयोगले जनाएको छ।