सुदूर नेपाललाई विश्वसँग जोड्दै

के गर्दैछन् धनगढीका मेयर हमाल?  यस्तो छ उनको भविष्यको योजना

२०८२ पुष १६, १०:५२ नारायण अवस्थी

धनगढी: २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा निर्वाचित भएका काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ राई दलीय राजनीतिमा लागे पनि धनगढीका मेयर गोपाल हमाल भने चुपचाप आफ्नो काममा व्यस्त छन्।

धरानमा स्वतन्त्र मेयर हर्कले आफ्नै नेतृत्वमा पार्टी खोलेर राजनीतिक गतिविधि र संगठन निर्माणको काम गरिरहेका छन् भने बालेन शाह भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन्।

काठमाडौँ र धरानका स्वतन्त्र मेयर पार्टी राजनीतिमा केन्द्रित भएर फागुनमा हुने चुनावमा उम्मेदवार बन्ने चर्चा चुलिएको बेला धनगढीका स्वतन्त्र मेयर के गर्दैछन् भन्ने प्रश्न स्वदेश तथा विदेशमा रहेका नेपालीमा उठ्नु स्वाभाविक नै हो।

मेयर हमालका शुभचिन्तकहरूले समेत सामाजिक सञ्जालबाट विभिन्न सुझाव र टिप्पणी गरिरहेका छन्। बालेन र हर्क राजनीतिक दलमा ध्रुवीकृत भएपछि धनगढीका मेयरले अब के गर्लान्? कस्तो निर्णयमा लेलान् भनेर सार्वजनिक रुपमै प्रश्न र जिज्ञासा उठेका छन्।

मेयर हमाल अहिले के गर्दैछन्?
२०७४ मा पहिलोपटक धनगढीको स्वतन्त्र मेयरको लागि उम्मेदवार बनेका हमाल त्यो बेला पराजित भएका थिए। २०७९ मा भने फराकिलो मतान्तरले हमाल नगर प्रमुखमा निर्वाचित भएका हुन्। हमालले २६ हजार ८६५ मत ल्याएका थिए,जुन निकटतम प्रतिद्वन्द्वी नृपबहादुर वडले हासिल गरेको भन्दा १२ हजार ४८ मत बढी हो।

भदौ २३ र २४ को नवयुवाको आन्दोलन पश्चात् समय अगावै विघटन गरिएको प्रतिनिधि सभाको चुनाव फागुन २१ मा हुने भएको छ। चुनावको मिति नजिकिँदै गर्दा नयाँ दल र पुराना दलहरूमा  तीव्र ध्रुवीकरण देखा परेको छ। दलीय ध्रुवीकरणको आँधीमा बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन् भने हर्क साम्पाङले आफ्नै दल खोलेर राजनीतिक आमसभा गरिरहेका छन्।

स्थानीय तहमा स्वतन्त्र निर्वाचित भएका तीन जना मेयरमध्ये बालेन र हर्क पार्टी राजनीतिमा सक्रिय भएको बेला धनगढीका स्वतन्त्र मेयर गोपाल हमाल भने आफ्नो योजनाअनुसार नगरवासीको काममा व्यस्त छन्। काठमाडौंमा बालेन, रवि र कुलमानको एकताको लागि सघन छलफल भइरहेको बेला धनगढीका मेयर गाउँ-गाउँमा गएर आफूले वार्षिक नीति तथा कार्यक्रमबाट पारित भएका कार्यक्रम कार्यान्वयनमा खटिएका छन्।

मेयर हमाल आजभोलि सामुदायिक विद्यालयमा पुगेर दलित समुदायका बालबालिकालाई पढ्न प्रेरित गरिरहेका छन्। दलित सामुदायलाई लक्षित गरेर यो वर्षबाट धनगढी उपमहानगरपालिकाले वितरण गर्न थालेको दलित छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख सक्रिय भएर लागेका छन्।

धनगढीकै दलित अभियानकर्ता जुठे दमाई र टीकाराम पार्कीको सम्झना र सम्मानमा यो वर्षबाट धनगढीमा दलित छात्राहरूलाई छात्रवृत्ति दिन थालिएको छ। दलित समुदायलाई शिक्षाको मुलधारमा ल्याउन दलित अभियानकर्ता जुठे दमाई र टीकाराम पार्कीको सम्मानमा छात्रवृत्ति दिन सुरू गरेको मेयर हमालले बताएका छन्।

यो वर्ष धनगढीका सामुदायिक विद्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत ५७६ जना दलित छात्राहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै दलित सामुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षा र उच्च शिक्षा पूरा गर्न मेयर हमालले प्रोत्साहित गरिरहेका छन्। मेयर हमाल छात्रवृत्ति वितरण कार्यक्रम उपस्थित भएर दलित समुदायका बालबालिकाहरूलाई पढ्नुको महत्व र आवश्यकता बारे कुराकानी गरिरहेका छन्। उनले बालबालिकालाई पढ्न प्रेरणा भर्ने काम गरिरहेका छन्।

'दलित परिवारले माथी उठ्नु पर्छ, त्यो काम शिक्षाले गर्छ, पढेर डाक्टर, इन्जिनियर, शिक्षक, नेता र सफल व्यवसायी बन्न सक्नुपर्छ भनेर हौसला प्रदान गर्न छात्रवृत्ति दिन थालिएको हो,' उनले भने, 'यो पर्याप्त छैन अन्य वर्गलाई छात्रवृत्तिमा समेट्न सकिएको छैन। उपमहानगरको सामर्थ्य बढ्यो भने त्यो पनि गर्नुपर्छ।'

नगर प्रमुख हमालले दलित समुदायमा पनि महिलाहरूको शिक्षामा पहुँच विस्तार गर्न धनगढी उपमहानगरपालिकाले टिकाराम पार्की छात्रवृत्ति योजनाअन्तर्गत कक्षा ११ र १२ तथा स्नातक तहमा विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययन गर्ने दलित छात्राहरूलाई पूर्ण छात्रवृत्ति दिने भएको छ। टीकाराम पार्की छात्रवृत्ति योजनाअन्तर्गत शैक्षिक सामग्री र  लाग्ने शुल्क उपमहानगरपालिकाले व्यहोर्ने हमालले बताए।

स्वतन्त्र मेयर पार्टी राजनीतिमा समाहित भएको बेला तपाईंको योजना के छ भन्ने प्रश्नको जवाफमा मेयर हमालले चुनावमा गरेको प्रतिबद्धताअनुसार २०८४ सम्म स्वतन्त्र रहेरै धनगढी नगरवासीको सेवा गर्ने बताए। उनले स्वतन्त्र रुपमा चुनाव जितेकाले मतदाताले गरेको विश्वासअनुसार स्वतन्त्र नै रहेर बाँकी रहेको कार्यकाल पूरा गर्ने बताए। "मलाई धनगढीका मतदाताले स्वतन्त्र उम्मेदवारको रुपमा जिताउनुभएको हो, म मतदाताको मतको कदर गर्दै स्वतन्त्र नै रहेर मेयरको कार्यकाल पूरा गर्नेछु,' उनले भने, 'बाँकी रहेको अबधिमा पनि सकेजति काम गर्ने हो। अहिले म स्वतन्त्र मेयर हुँ, स्वतन्त्र नै रहेर काम गर्छु।'

धनगढीको नगर प्रमुखमा निर्वाचित भएदेखि इमानदारी पूर्वक जनताकै सेवामा लागेको बताउने नगर प्रमुख हमालले नागरिकहरूले स्वतन्त्र नै रहेर देशका लागि सक्ने योगदान दिनुपर्ने बताएका छन्। उनले समाजका सबै क्षेत्र विकृत राजनीतिको सिकार भएकाले त्यसको समेत सबैले मिलेर उपचार खोज्नुपर्ने धारणा राखेका छन्।

सुदूरपश्चिमलाई जगाउने अभियान सुरू गर्ने
कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष रहेको बेला सुन्दर सुदूरपश्चिम र सम्भावनाको सुदूरपश्चिम अभियान सञ्चालन गरेका हमालले मेयरको कार्यकाल पूरा गरेपछि सुदूरपश्चिमलाई जगाउने अभियान थाल्ने बताएका छन्। सुदूरपश्चिम सुन्दर छ, अनेक धार्मिक स्थल र प्राकृतिक सौन्दर्यको खानी सुदूरपश्चिम हो भन्ने अभियान थालेका हमालले समृद्ध सुदूरपश्चिमको लागि यहाँका विभिन्न सम्भावनाको उजागर गर्ने अभियान चलाउने बताएका छन्।

'म अहिले मेयर छु, मलाई धनगढीवासीले पाँच वर्षका लागि दिएको म्याण्डेड म इमानदार भएर पूरा गर्छु,' उनले भने, 'त्यसपछि के गर्ने भन्ने विषयमा मैले योजना बनाइ सकेको छु। सुदूरपश्चिमलाई जगाउने अभियान चलाउनु पर्छ र सुदूरपश्चिमकै विकासका लागि काम गर्ने सपना देखेको छु।'

नगर प्रमुख हमालले आफ्नो प्राथमिकता धनगढी र समग्र सुदूरपश्चिम रहेको बताएका छन्। 'म अहिले धनगढीको जनप्रतिनिधि हुँ। कार्यकाल पूरा भएपछि मैले सुदूरपश्चिमका लागि नै काम गर्ने सोच बनाएको छु। यहाँका अपार सम्भावनालाई उजागर गर्दै समृद्ध र विकसित सुदूरपश्चिमका लागि सबैसँग हातेमालो गर्दै काम गर्नुपर्ने मैले देखेको छु,' उनले भने।

मेयर हमालले सुदूरपश्चिम प्रचुर  सम्भावना भएको क्षेत्र रहेको बताएका छन्। कृषि, पर्यटन, जलविद्युत, उद्योग र व्यापारका क्षेत्रमा राज्यको लगानी नहुँदा समग्र प्रदेश पछि परेको उनको भनाइ छ। भारत र चीनसँगा नाका जोडिएको हिमाल, पहाड र तराईको उब्जनी हुने जमिन भएको प्रदेशको विकासका लागि राज्यले लगानी नै नगरेको उनको ठम्याइ छ। सेती राजमार्ग, महाकाली राजमार्ग, भारत र चीनसँग भन्सार नाकाको स्तरोन्नति नहुँदा उद्योग र वाणिज्यको क्षेत्रमा प्रगति हुन नसकेको उनले बताए।

खप्तड, रामारोशन, बडीमालिका, बैजनाथ धाम, परशुराम धामसहितका अनेकौं धार्मिक र प्राकृति स्थलको विकास र प्रचारप्रसार गर्न सके सुदूरपश्चिमले धार्मिक र पर्यापर्यटनबाटै मनग्गे लाभ लिन सक्ने मेयर हमालले बताएका छन्।

विकास केन्द्रित मुद्दा उठाउने
मेयर हमालका अनुसार राजनीतिक रूपमा धेरै परिवर्तन भए पनि सुदूरपश्चिमको विकासको गति अहिलेसम्म पनि दयालाग्दो अवस्थामा छ। उनले तथ्यांक प्रस्तुत गर्दै भने, 'सन् २०१९ मा कर्णाली प्रदेशमा गरिबीको दर ३९ दशमलव ५० प्रतिशत थियो। अहिले उसले घटाएर २६ दशमलव ६९ प्रतिशतमा झारेको छ। तर त्यही समयमा २५ दशमलव ३० प्रतिशत गरिबी रहेको सुदूरपश्चिममा अहिले बढेर ३४ दशमलव १६ प्रतिशत पुगेको छ।'

सुदूरपश्चिमभन्दा गरिब मानिएको कर्णालीले गरिबी घटाउन सफल हुनु र सुदूरपश्चिममा उल्टै गरिबी बढ्नु अत्यन्तै चिन्ताको विषय भएको मेयर हमालको भनाइ छ। 'कर्णालीले गरिबी घटायो, सुदूरपश्चिमको किन बढ्यो? यसको जवाफ हामी सबैले खोज्नुपर्छ,' उनले भने। सुदूरपश्चिममै बसेर सुदूरपश्चिमको विकासका लागि अभियान चलाउने योजना आफूले बनाएको उनले बताएका छन्। 'सुदूरपश्चिमलाई भर्याङ बनाएर प्रगति गर्ने र पलायन हुने प्रवृत्ति छ, जसका कारण पनि हाम्रो क्षेत्रको विकास हुन नसकेको हो,' उनले भने, 'अब पलायन भएकाहरूसमेत सुदूरपश्चिममै फर्खेर विकास र समृद्धीका लागि मार्ग खोल्नुपर्छ भन्ने मेरो सपना छ। म यो सपनाका लागि इमानदार प्रयास गर्नेछु।'

सुदूरपश्चिम देउकी र छाउपडीको प्रदेश मात्रै भएको जुन भाष्य निर्माण गरिएको छ। त्यो भाष्यलाई खारेज गर्नुपर्ने हमालले बताएका छन्। सुदूरपश्चिममा कृषि, पर्यटन, उद्योग, व्यापार र वाणिज्य क्षेत्रमा रहेका प्रचुर सम्भावनाको विकास गर्दै रोजगारीका ढोका खोल्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने र त्यसका लागि सम्पूर्ण सुदूरपश्चिमवासीले सक्दो प्रयास गर्नुपर्ने मेयर हमालको भनाइ छ। कुनै राजनितिक दलमा आवद्ध नभएरै स्वतन्त्र नागरिक अभियान चलाउने चाहना रहेको मेयर हमालले बताएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस