सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट प्वाइन्ट’ बोर्ड स्थापना

२०८२ पुष १४, ०१:५८ खबर संवाददाता

कञ्चनपुर: सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कञ्चनपुरले राजमार्ग क्षेत्रमा ‘ब्ल्याक स्पोट प्वाइन्ट’ बोर्ड राख्न थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत बढी दुर्घटना हुने स्थानहरू पहिचान गरी सचेतनामूलक बोर्ड स्थापना गरिरहेको जनाएको छ।

वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्गका दुर्घटनाग्रस्त स्थानलाई ‘सम्भावित दुर्घटना क्षेत्र’ उल्लेख गर्दै बोर्ड राखिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। पछिल्ला तीन वर्षमा भएका सवारी दुर्घटनाको तथ्यांक विश्लेषण गरेर यस्ता स्थानमा बोर्ड राखिएको कञ्चनपुर ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए।

उनका अनुसार सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणीबंक क्षेत्रमा ‘ब्ल्याक स्पोट प्वाइन्ट’ बोर्ड जडान गरिएको छ। “विगतका दुर्घटनालाई आधार मानेर यात्रु तथा चालकलाई सजग गराउने उद्देश्यले यो अभियान अघि बढाएका हौँ,” नाथले भने, “यसले मानवीय क्षति, अंगभंग तथा भौतिक नोक्सानी न्यूनीकरणमा सहयोग पु¥याउने अपेक्षा गरेका छौँ।”

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम रानाले बढी दुर्घटना हुने स्थानमा चेतनामूलक बोर्ड राख्ने कार्यक्रम देशभर सञ्चालन भइरहेको जानकारी दिए। सोही कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा पनि बोर्ड जडान कार्य निरन्तर जारी रहेको उनले बताए। डिआइजी रानाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगै समुदाय र सरोकारवाला निकायको संयुक्त जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।

कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको यो पहल प्रशंसनीय रहेको बताए। उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको प्रयासमा स्थानीय सरकारले आवश्यक सहयोग, समर्थन र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

वडाध्यक्ष साउदले वाणी क्षेत्रमा ‘क’ वर्गको प्रहरी चौकी स्थापना गर्न प्रदेश प्रहरी प्रमुखसमक्ष ध्यानाकर्षण गराउँदै स्थायी चौकी निर्माण गरी स्तरवृद्धि गर्न माग गरे। साथै, कृष्णपुर–२ अन्तर्गत बनहरापुलदेखि मोहनापुलसम्म लामो राजमार्ग क्षेत्रमा सिसिटिभी क्यामेरा जडानलगायत निगरानी प्रणाली मजबुत बनाउन आवश्यक रहेको भन्दै सवारी दुर्घटना न्यूनीकरणतर्फ थप पहल गर्न आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस