उपचार गराएर मुख्यमन्त्री शाह स्वदेश फर्किए
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह स्वदेश फर्किएका छन् । दुई साता भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराएर मुख्यमन्त्री शाह मंगलबार राति स्वदेश फर्किएका हुन् ।
दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि मुख्यमन्त्री शाह मंसिर २६ गते उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए । धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका मुख्यमन्त्री शाह स्थलमार्ग नै हुँदै धनगढी फर्किएका हुन् । सचिवालयका अनुसार मुख्यमन्त्री शाहलाई रीडको हड्डीको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले सुझाब दिएका छन् ।
यसअघि मुख्यमन्त्री शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पताल र काठमाण्डौको विर तथा मेडिसिटी अस्पतालमा उपचार गराएका थिए । चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी नयाँ दिल्ली गएका थिए । उपचारमा लागेको सम्पूर्ण खर्च मुख्यमन्त्री शाहले व्यक्तिगत रूपमा व्यहोरेको सचिवालयले जनाएको छ ।