धनगढीमा होलिडे इनको पाँचतारे होटल: २ अर्बभन्दा बढी लगानी
धनगढी: होलिडे इन आइएचजी र क्लब चौलानी लिमिटेडबीच धनगढीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने सम्झौता भएको छ। मङ्गलवार काठमाडौंको होलिडे इन रिसोर्ट बुढानिलकण्ठमा क्लब चौलानी लिमिटेड र होलिडे इन आइएचजीबीच होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा क्लब चौलानीका तर्फबाट अध्यक्ष डाक्टर राजेन्द्र केसी र आइएचजी होटेल्स एण्ड रिसोर्ट्सका दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्।
धनगढीस्थित क्लब चौलानी रहेकै स्थानमा पाँचतारे होटेल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माणको काम भइरहेको क्लब चौलानीका अध्यक्ष केसीले बताएका छन्। सम्झौता पश्चात् धनगढीमा सुदूरपश्चिममै पहिलो पटक पाँच तारे होटेल सञ्चालनमा ल्याउन विश्वभर चेन होटेल रहेको होलिडे इन बाइ आइएचजीसँग सहकार्य गरिएको अध्यक्ष केसीले बताए।
धनगढीमा निर्माण हुन लागेको होलिडे इन बाइ आइएचजी, धनगढी सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पहिलो पाँचतारे होटल हुनेछ। होटेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रिमियम सुइटसहित ११५ वटा अत्याधुनिक अतिथि कक्ष रहनेछन्। हेटलमा १८ हजार पाँच सय वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, सात सय जना अट्ने ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु-परिकार रेष्टुरेन्ट, पूर्ण रुपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विषेश निजी डाइनिङ सुबिधा समावेश रहनेछन्।
पाँचतारे होटल सञ्चालनमा ल्याउन दुई अर्ब २० करोड लगानी गरिने बताइएको छ। धनगढीसहित सुदूरपश्चिमको प्राकृति सौन्दर्य, धार्मिक- सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताको प्रवर्द्धन गर्न पाँचतारे होटल सञ्चालनमा ल्याइन लागेको क्लब चौलानीका अध्यक्ष केसीले बताए। उनले भारतको उत्तराखण्ड र उत्तर प्रदेशका भारतीय पर्यटकहरूलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइन लागेको बताए।
होलिडे इन धनगढी परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यावसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुवात हुने दाबी गरिएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। होटेल २०८४ सालको सुरूबाट सञ्चालनमा आउने बताइएको छ।
सम्झौतामा पश्चात् आयोजित पत्रकार सम्मेलनमा सिए दिपक पाण्डेले सञ्चारकर्मीले गरेका प्रश्नको जबाफ दिएका थिए। उनले सुदूरपश्चिममा पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखेर नै लगानी गरिएको र पाँचतारे होटल सञ्चालनमा आएपछि पर्यटन क्षेत्रको विकासको नयाँ अध्याय सुरू हुने पाण्डेले बताए। उनले पाँचतारे होटल सञ्चालनमा आउँदा सुदूरपश्चिम प्रदेशमा पर्यटनको सम्भावना उजागर हुने बताए। " होलिडे इन धनगढी सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना हुनेछ। यसले क्षेत्रीय पर्यटन, व्यावसायिक विकास तथा आर्थिक प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ," उनले भने।
होलिडे इन धनगढीले करिब आठ सय जनालाई प्रत्यक्ष रोजगारी दिने पाण्डेले बताए। होलिडे इन धनगढीले आइपिओसमेत निष्कासन गर्ने छ। त्यसका लागि गरिमा क्यापिटललाई प्रबन्धकको रुपमा नियुक्त गरिएको छ। २०८४ सालको सुरूमै सञ्चालनमा ल्याउने लक्ष्यका साथ हाल भौतिक निर्माणको ४० प्रतिशत काम भएको बताइएको छ। मङ्गलवार भएको सम्झौताले अन्तर्राष्ट्रिय चेन अन्तर्गतको पहिलो पाँचतारे होटल धनगढीस्थित क्लब चौलानीमा सञ्चालनमा आउने भएको छ।