सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पाँचतारे होटल सञ्चालनका लागि व्यवस्थापन सम्झौता

२०८२ पुष ८, ०३:५२ खबर संवाददाता

धनगढीः धनगढीमा निर्माण हुन लागेको चेन होटल ‘होलिडे इन’ सञ्चालनका लागि होटल व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।

क्लब चौलानी लिमिटेड र आईएचजी होटल्सबीच भएको उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसी र आईएचजी होटल्सका तर्फबाट दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यक्रम काठमाण्डौस्थित होलिडे इन रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको हो।

करीब अढाई अर्ब रुपैयाँको लगानीमा धनगढीमा निर्माण हुन लागेको पाँचतारे होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा आउने क्लब चौलानी लिमिटेडका चाटर्ड एकाउन्टेन्ट दीपक पाण्डेयले जानकारी दिए। उनका अनुसार होटलमा प्रिमियम स्तरका आधुनिक अतिथि कक्षहरू, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, फिटनेस सेन्टर, तथा विभिन्न बैठक, गोष्ठी र सम्मेलनका लागि सभाहलको व्यवस्था रहनेछ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा र लगानीका लागि नयाँ मापदण्ड स्थापना गर्ने विश्वास लिइएको प्रबन्ध निर्देशक मानसिंह साउदले बताए। उनले होटल सञ्चालनमा आएपछि क्षेत्रीय पर्यटन प्रवद्र्धन, व्यवसायिक विकास र समग्र आर्थिक प्रगतिमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गरे।

होटेल आगामी २०८४ सालको नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण तथा तयारी कार्य तीव्र रूपमा अघि बढाइएको पनि साउदले जानकारी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस