सुदूर नेपाललाई विश्वसँग जोड्दै

तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि आयोगको पत्र

२०८२ पुष ८, ०३:३३ खबर संवाददाता

काठमाडौँः भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ । 

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको हो ।

यसैका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो भने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगले जनाएको छ । सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।

कार्की आयोगलाई सुरुमा तीन महिना म्याद दिइएकामा सरकारले पछिल्लो पटक एक महिना थप गरेको छ । उक्त आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी छ । मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको छ ।
 

कमेन्ट लोड गर्नुस