सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशमा शान्ति सुरक्षा पहिलो प्राथमिकता : डिआईजी राना

२०८२ पुष ७, ०४:४० जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमबहादुर रानाले प्रदेशमा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने बताएका छन्। आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे।

उनका अनुसार प्रदेशमा बढ्दो लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि कडाइका साथ कारबाही अघि बढाइएको छ। लागुऔषध नियन्त्रणलाई अझ प्रभावकारी बनाउन केही दिनभित्र सरोकारवाला निकाय र नागरिकसँग वृहत् छलफल गरी ठोस कार्ययोजना बनाएर अघि बढ्ने तयारी भइरहेको उनले जानकारी दिए।आत्महत्या रोकथामका लागि पनि प्रहरीले सक्रिय रूपमा काम गरिरहेको उनले बताए।

जेनजी आन्दोलनपछि प्रहरीको मनोबल प्रभावित भए पनि कानुनअनुसार काम गर्ने प्रहरीको जिम्मेवारी नेतृत्वले लिने उनको भनाइ थियो। ‘जेनजी आन्दोलनपछिको अवस्थाले प्रहरीको मनोबल कमजोर भयो कि भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘कानुन अनुसार काम गर्ने प्रहरीको जिम्मेवारी कार्यालय प्रमुखले लिन्छ।’

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये हालसम्म ३६५ जना अझै पक्राउ पर्न बाँकी रहेको उनले बताए। फरारमध्ये ६५ जना भारतीय नागरिक रहेको र धेरै कैदीबन्दी भारततर्फ भागेको सूचना आएको बताउँदै सबैको निगरानी भइरहेको उनको भनाइ थियो। प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले मंसिर महिनामा कार्यालयले सम्पादन गरेका गतिविधिबारे जानकारी दिए। उनका अनुसार सो अवधिमा १२० वटा सवारी दुर्घटना भएका छन्, जसमा १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। दुर्घटनामा १८० वटा सवारी साधन संलग्न रहेका थिए।

‘अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ, केही दुर्घटना यान्त्रिक कारणले पनि भएका छन्,’ उनले भने। एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २८० वटा सवारी साधन कारबाहीमा परेका छन् भने त्यसबाट २६ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए।

त्यसैगरी मंसिर महिनामा ११ नाल भरुवा बन्दुक बरामद गरिएको, दुईवटा मुद्दा दर्ता भएको र दुई जनालाई पक्राउ गरिएको जानकारी दिइयो। साथै, ९५ लाख ७५ हजार ९८५ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस