सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट एमाले केन्द्रीय कमिटीमा एक उपमहासचिवसहित २५ नेता निर्वाचित

२०८२ पुष ४, ११:०९ नारायण अवस्थी

धनगढीः नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका एक उपमहासचिवसहित ठूलो संख्यामा नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्।

महाधिवेशनमार्फत तत्कालीन सचिव लेखराज भट्ट उपमहासचिवमा विजयी भएका छन्। भट्टले पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै एक हजार ४५२ मत प्राप्त गरेका हुन्।

यसअघि पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज रहेका भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्छन्।

सचिव पदमा संस्थापन इतर ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका कर्णबहादुर थापा पराजित भएका छन्। नौ वटै सचिव पदमा संस्थापन पक्षका उम्मेदवार विजयी हुँदा थापाले ८४७ मत मात्र पाए। उनी बाजुराबाट प्रतिनिधित्व गर्छन्। यद्यपि, थापा केन्द्रीय सदस्यमा भने १ हजार २६ मतसहित विजयी भएका छन्।

सुदूरपश्चिम प्रदेश भूगोलतर्फका नौ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। युवातर्फ बैतडीका गोविन्द गिरी, महिलातर्फ कैलालीकी कमलाकुमारी ओली र लिलाकुमारी भण्डारी विजयी भएका छन्। खुला भूगोलतर्फ डोटीका चक्रबहादुर मल्ल, डडेल्धुराका पठानसिंह बोहरा, अछामका यज्ञबहादुर बोगटी, बैतडीका लिलाधर भट्ट र बाजुराका सहदेव बोगटी केन्द्रीय सदस्य बनेका छन्।

यसैगरी, सुदूरपश्चिमबाट थप १५ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। युवा क्लस्टरमा बाजुराका नरेश रोकाया सर्वसम्मत चयन भएका थिए। सचिवमा पराजित थापासहित बैतडीका दामोदर भण्डारी, कैलालीका झपटबहादुर रावल र सन्तोषकुमारी शर्मा थापा, बाजुराका लालबहादुर थापा, अछामका झपट बोहरा पनि केन्द्रीय सदस्य बनेका छन्।

त्यसैगरी कञ्चनपुरकी कमला बोहरा, दार्चुलाका गणेश सिंह ठगुन्ना, कञ्चनपुरकी निरुदेवी पाल, बझाङका ऐन महर, कञ्चनपुरका कृपाराम राना, कैलालीका गौरीशंकर चौधरी, बझाङका अफिलाल ओखेडा र आशा विक पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस