सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा संगठित र आर्थिक अपराध तीव्र, साढे तीन महिनामा करिब एक सय मुद्दा दर्ता

२०८२ पुष ३, ११:२८ नारायण अवस्थी

धनगढीः कैलाली जिल्लामा संगठित अपराधको जालो तीव्र रूपमा फैलिँदै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो साढे तीन महिनाको अवधिमा मात्रै संगठित अपराधसम्बन्धी ९८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस अवधिमा बैंकिङ कसुरसम्बन्धी अपराध पनि उल्लेखनीय रूपमा बढेका छन्। प्रहरीको तथ्यांकअनुसार १ सय ५३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता हुँदा २४ जनालाई पक्राउ गरिएको छ। यसले कैलालीमा आर्थिक अपराध चुनौतीको रूपमा उभिँदै गएको संकेत गरेको छ।

त्यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरीलगायत गम्भीर प्रकृतिका अपराध पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेका छैनन्। पछिल्लो साढे तीन महिनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगसम्बन्धी ७६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५३ जना पक्राउ परेका छन्। आत्महत्यासम्बन्धी घटनाहरू पनि उच्च देखिएका छन्। सो अवधिमा यस्ता ९६ वटा मुद्दा दर्ता भएका छन्।

सामाजिक अपराधतर्फ ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन्। जबरजस्ती करणी, बालविवाह, बोक्सीको आरोपजस्ता महिला सम्बन्धी अपराधका २७ वटा मुद्दा दर्ता हुँदा ३४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले हत्या, हिंसा, जबरजस्ती करणी, चोरी, तस्करीलगायत सामाजिक अपराधका घटनामा उल्लेखनीय कमी आउन नसकेको बताए। अपराध नियन्त्रणका लागि विशेष रणनीति बनाएर प्रहरीले सक्रिय रूपमा काम गरिरहेको उनले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस