सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालयको उत्कृष्ट काम: गोष्ठी, अनुगमन र भ्रमण मात्रै

२०७६ साउन २४, ०७:१८ कमल सावद

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बर्षभरीको उत्कृष्ट कार्यमा छलफल, गोष्ठी, अनुगमन र भ्रमण मात्रै अटाएका छन्।  विभिन्न समयमा भएको छलफल, गोष्ठी, अनुगमन भ्रमण र विभिन्न कार्यक्रम मार्फत सुझाव संकलन गरिएको भन्दै मन्त्रालयले त्यसैलाई गत आर्थिक बर्षको उत्कृष्ट कार्यको सूचिमा राखेको छ। दिनेश खबरले लिखित रुपमा मागेको सूचना दिँदै मन्त्रीपरिषद्को कार्यालयले गत आर्थिक वर्षमा छाउपडी नीति तर्जुमाका लागि सुझाव संकलन गरिएको भन्दै सोही कार्यलाई उपलव्धीको एक नम्वर बुंदामा राखेको छ। त्यस्तै छाउँपडी नीतीको मस्यौदाले अन्तिम रुप पाएको भन्दै त्यसलाई पनि उपलव्धीमा राखिएको छ। 
सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका लागि गत आर्थिक वर्षमा ३ करोड ४० लाख १९ हजार पुँजिगत र ८ करोड ६८ लाख ४६ हजार चालु तर्फ बजेट विनियोजन भएको थियो। चालु बजेटको ५६ दशमलव ०६ प्रतिशत अर्थात चार करोड ८६ लाख ९४ हजार खर्च भएको छ भने, पुँजिगतको ४७ दशमलव ६७ प्रतिशत अर्थात एक करोड ६२ लाख १८ हजार खर्च भएको छ। 

गत आर्थिक वर्ष २०७५-०७६ मा पुँजिगत बजेटबाट मुख्यमन्त्री कार्यालयले एक चार पाङ्ग्रे गाडी, पाँच वटा मोटरसाईकल र दुई वटा स्कुटर खरिद गरेको छ। पुँजिगत बजेट तर्फ मुख्य उपलव्धीको काम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गाडी खरिद नै हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी जगदीश जोशीले गाडी खरिदमा भएको खर्चको विवरण दिन मानेनन्। 

चालु बजेटबाट छाउपडी नीति तर्जुमाका लागि बझाङ, बाजुरा, अछाम र कैलालीमा सुझाव संकलन मुख्यमन्त्री कार्यालयले प्रमुख उपलव्धी भनेको छ। न्यायिक समितिका पदाधिकारीलाई अभिमुखिकरण, चौमासिक प्रगति बैठक, भ्रष्टाचार न्यूनिकरण तथा सुशासन गोष्ठी, प्रदेश समन्वय परिषदको बैठक लगायत मुख्यमन्त्री कार्यालयका एक वर्षका प्रमुख उपलव्धी भएको सुचि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सूचना अधिकारी जोशीले लिखित रुपमा दिएका छन्। उनले उपलब्ध गराएको उत्कृष्ट कामको सूचिमा जनतासंग मुख्यमन्त्री रेडियो कार्यक्रम, हेलो सिएम, विकास योजनाको अनुगमन, कर्मचारीको पदस्थापना पनि रहेका छन्। प्रदेश स्तरीय विकास योजनाहरुको अनुगमन पनि प्रदेशको मुख्यमन्त्री कार्यालयले उत्कृष्ट कामको सू्चिमा राखेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले ८ ऐन, ३ नियमावली, ४ आचारसंहिता तथा कार्यविधिलाई पनि गत आर्थिक वर्षको उपलब्धी मानेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जम्मा बजेट १२ करोड ८ लाख ६५ हजारमा ६ करोड ४९ लाख १२ हजार अर्थात ५३ दशमलव ७१ प्रगति वजेट खर्च गरेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस