कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट काँग्रेस प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
कञ्चनपुर: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ दुई जनालाई सिफारिस गरेको छ। चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा आन्तरिक निर्वाचन गरिएको थियो। उक्त निर्वाचनमा क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्यायले ५८ मत र पुराना नेता भरत विष्टले ५२ मत प्राप्त गरी सिफारिस हुनुभएको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले जानकारी दिए।
यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ सगुना राना र खिना भण्डारी तथा राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्त सर्वसम्मत रूपमा सिफारिस हुनुभएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार सिफारिस गरिएका नामहरू माथिल्लो समितिमा पठाइएको जनाइएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दल बहादुर बोहरा सिफारिस हुनुभएको छ। कांग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैगरी क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ गणेश नेपाली र तौला राना सिफारिस हुनुभएको छ भने राष्ट्रिय सभातर्फ पुस्करराज ओझा, देवराज पाठक र इश्वरी खातीको नाम सिफारिस गरिएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा भने १९ जना आकाङ्क्षी देखिएकाले उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको छ। क्षेत्रीय सभापति केशव चन्दका अनुसार थप छलफलपछि अन्तिम टुङ्गो लगाइनेछ। क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द आकाङ्क्षी रहेका थिए।
त्यसैगरी समानुपातिकतर्फ माया भट्ट, कल्पना केसी र हरि ठाकुर आकाङ्क्षी रहनुभएको छ भने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १३ जना आकाङ्क्षी देखिएका छन्। जिल्ला कार्य समितिका अनुसार शनिबार साँझसम्म उम्मेदवार सिफारिसको प्रक्रिया टुंग्याइनेछ।
सरकारको निर्णयअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते तथा राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुने तय भएको छ।