चिसापानी–राजकाँडा केवलकार निर्माण तीव्र, आउँदो बैशाखदेखि सञ्चालन गर्ने लक्ष्य
धनगढीः कैलालीको प्रमुख पर्यटकीय गन्तव्य चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केवलकार आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। निजी क्षेत्रको लगानीमा करिब सात अर्ब रुपैयाँ लागतमा निर्माण हुँदै आएको यो केवलकार आउँदो बैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
चिसापानीदेखि राजकाँडासम्म करिब तीन किलोमिटर लामो केवलकार निर्माणसँगै पाँचतारे तथा चारतारे होटल, क्यासिनो, जिपलाइन, स्काइ साइकलिङ, पार्टी प्यालेसलगायत विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट हुन लागेको हालसम्मकै ठूलो लगानीको पर्यटन पूर्वाधारका रूपमा यो आयोजना रहेको बताइएको छ।
केबलकार निर्माण आयोजनाका व्यवस्थापक विजय पौडेलका अनुसार पहिलो चरणमा केवलकार निर्माण सम्पन्न गरिनेछ भने दोस्रो चरणमा होटल, क्यासिनो र अन्य संरचना निर्माण गरिनेछ। 'आउँदो बैशाखबाट केवलकार सञ्चालन गर्ने गरी काम तीव्र रूपमा भइरहेको छ,' उनले भने।
आयोजनाअन्तर्गत आवश्यक १४ वटा टावर र ३४ वटा गोन्डुला निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। केवलकारका दुवै स्टेशन, रेस्टुरेन्ट, राजकाँडास्थित जालपादेवी मन्दिरलगायत संरचना धमाधम निर्माण भइरहेका छन्। स्टेशन म्यानेजर हरिओम खड्काका अनुसार राजकाँडामा चारतारे होटल, मन्दिर, जिपलाइन र स्काइ साइकलिङजस्ता साहसिक पर्यटन संरचना निर्माण गरिनेछन् भने चिसापानीमा पाँचतारे होटल, क्यासिनो र पार्टी प्यालेस निर्माण गरिनेछ।
सम्पूर्ण संरचना निर्माणमा करिब सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसमध्ये केवलकार निर्माणमै साढे दुई अर्ब रुपैयाँ लागत लाग्ने बताइएको छ। जालपादेवी केवलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, स्थानीय व्यवसायी सूर्य थापासहितको लगानी रहेको छ।
सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई समेत लक्षित गरी चिसापानीमा केवलकार निर्माण थालिएको हो। आयोजना सञ्चालनमा आएपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुने र यसले स्थानीय तथा क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कर्णाली नदीमाथि बनेको आकर्षक पुल, चुरे पहाडको प्राकृतिक सौन्दर्य र ऐतिहासिक राजकाँडाको पहिचानसँगै केवलकारले पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने विश्वास गरिएको छ। केवलकारको एकतर्फी यात्रा करिब १० मिनेटको हुने र यात्राका क्रममा कर्णाली नदी, पुल तथा चुरे पहाडको रमणीय दृश्य अवलोकन गर्न सकिनेछ।
गत वर्ष १३ पुसमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाले आयोजनाको शिलान्यास गरेकी थिइन्। सरकारले आयोजनाका लागि २० विघा जग्गा लिजमा दिएको छ। सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्माणाधीन केवलकारको निरीक्षणसमेत गरेका छन्।
लगानीकर्तासमेत रहेका चन्द्र ढकालले आगामी बैशाखदेखि केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको र यो नेपालकै सबैभन्दा ठूलो एकीकृत पर्यटकीय पूर्वाधार हुने दाबी गरेका छन्।