सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली- १ मा काँग्रेसका प्रत्यक्षमा ५ र समानुपातिकतर्फ ८ जना आकांक्षी

२०८२ मंसिर २३, ०५:३६ खबर संवाददाता

टीकापुरः नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आगामी निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरूको नामावली संकलन कार्य पूरा गरेको छ। प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रियसभाका लागि इच्छुक व्यक्तिहरूको नाम दर्ता लिइएको हो।

प्रत्यक्षतर्फ पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। नाम दर्ता गर्नेमा काँग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी, डाक्टर रणबहादुर रावल, इश्वरी न्यौपाने, सुदूरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरी र बुद्धिसागर चौधरी समावेश छन्।

समानुपातिकतर्फ आठ जनाले नाम दर्ता गराएका छन्। उनीहरूमा बिरबहादुर हमाल, धिजराज रेग्मी, उमादेवी बादी, अकबर अली कुरेसी, राजेशकुमार टमट्टा, बिर्ख रावल, केशरी रावल बिष्ट र सुशीला स्वाँर रहेका छन्।

राष्ट्रियसभातर्फ फकिरसिंह कडायत र नृप खड्काले उम्मेदवारी दर्ता गराएका छन्। आयोगले राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने जनाएको छ।

कैलाली–१ का नेपाली काँग्रेस सचिव धनञ्जय रिमालका अनुसार केन्द्रीय समितिको निर्देशनअनुसार आकांक्षीहरूको नाम संकलन गरिएको हो। उनका अनुसार केन्द्रले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न भनिएको छ।

रिमालले दर्ता भएका नामहरूबारे छलफल गर्न क्षेत्रीय कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको बताए। सहमतिको आधारमा नाम सिफारिस गर्ने प्रयास हुने र सहमति नभए सबै नाम जिल्ला कार्यसमितिमा पठाइने समेत जानकारी दिए।

कमेन्ट लोड गर्नुस