सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको रिलामा भाइरल ज्वरोको संक्रमण तीव्र

२०८२ मंसिर २३, १२:३९ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–४, रिलामा भाइरल ज्वरोको प्रकोप तीव्र बन्दै गएको छ। यहाँका करिब १८० घरपरिवारमा ज्वरोका बिरामी भेटिनुका साथै चिसो बढेसँगै संक्रमितहरूको संख्या झनै बढेको स्थानीयहरू बताउँछन्।

घर–घरमा भाइरल ज्वरो फैलिँदा पाथरकोट आधारभूत विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। कक्षा ५ मा अध्ययनरत आरती कुमारी परीका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी, टाउको दुखाइ, ज्वरो र उल्टीजस्ता लक्षण देखिएका छन्। बिरामी भए पनि पढाइ छुट्ने डरले विद्यालय आउँदा कक्षामा बस्नसमेत कठिनाइ हुने आरतीले बताइन्।

गाउँमा पछिल्ला एक महिनादेखि धेरैजना बिरामी पर्दै आएका छन्। यसले विद्यार्थीहरूको कक्षामा उपस्थितिमा असर पारेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले जानकारी दिए। उनका अनुसार विद्यालयमा ९३ जना विद्यार्थी भए पनि अहिले अधिकांश कक्षाकोठा खालीजस्तै छन्। बालबालिकामा पनि खोकी, ज्वरो, वाकवाकी जस्ता लक्षण बढ्दै गएका छन्।

हिउँद सुरु भएसँगै गाउँमा रुघाखोकी र भाइरल संक्रमण बढÞिरहेको र दैनिक पाँचदेखि सात बिरामी उपचारका लागि आउने गरेको रिला सहरी स्वास्थ्य केन्द्रका प्रमुख मीनबहादुर थापाले बताए। उनका अनुसार आवश्यक औषधि दिएपछि केही बिरामीको अवस्था सुधार हुँदै गएको छ।

(गोरखापत्रबाट साभार)

कमेन्ट लोड गर्नुस