सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिबाट सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी पुरा, अर्थमन्त्रीले उद्घाटन गर्ने

२०८२ मंसिर २१, ०४:१२ जयन्त सिंह भाट

धनगढीः सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो आर्थिक तथा व्यापारिक उत्सवको रूपमा परिचित सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण भोलि मंसिर २२ गतेदेखि धनगढीमा सुरु हुँदैछ। महोत्सव धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलको प्रदर्शनी स्थलमा कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुँदैछ।

उद्घाटन समारोहका लागि अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा धनगढी आउनेछन्। साथै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी तथा पत्रकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

महोत्सवका लागि तयारी पूर्ण भइसकेको बताइएको छ। तीन करोड रुपैयाँको लगानीमा आयोजना हुने महोत्सवमा करिब १५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ।

महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक र होटल व्यवसाय गरी करिब पाँच सय स्टल रहनेछ। कृषितर्फ स्टल र महिला उद्यमी, एकल महिला तथा स्थानीय परिकारका १५ स्टलसहित ५५ वटा स्टल निःशुल्क रहनेछन्।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिमको उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ। “स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवद्र्धन र प्रदेशको आर्थिक चलायमानता बढाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो,” उनले भने।

महोत्सव अवधिभर करीब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रवेशका लागि विद्यार्थी र खेलाडीले ५० रुपैयाँ, सर्वसाधारणले १०० रुपैयाँ तिर्नुपर्नेछ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिईने छ।

महोत्सवमा कला–संस्कृतिका प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि, बाल उद्यान, साथै स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग व्यवसायका प्रदर्शनी रहनेछन्। सुरक्षा व्यवस्था, सरसफाइ, पार्किङ र ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन तथा सुरक्षानिकायसँग मिलेर तयारी गरिएको आयोजकले जनाएको छ। 
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस