सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार निरिह भएपछि व्यक्तिगत लगानीमा धनगढी–स्याउले खण्डमा ग्रावेल

२०७६ साउन २३, ०३:०६ खबर संवाददाता

धनगढी– दीपायल द्रुतमार्ग अन्तरगत हसनपुर–स्याउले खण्डमा व्यक्तिगत लगानीमा ग्रावेल गरिएको छ। द्रुत मार्ग निर्माण संघर्ष समितिका अध्यक्ष समेत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ११ का स्थानीय हेमराज विष्टले एक लाख २१ हजार खर्च गरेर सडकमा ग्रावेल गरेका हुन्। खाल्टाखुल्टीका कारण सडकमा आवतजावत गर्नै मुस्किल भएपछि बाख्रा पालनबाट भएको आम्दानीले विष्टले ग्रावेल हालेका हुन्। धनगढी उप–महानगरपालिकाको ढुङ्गेबजारदेखि स्याउले नजिक क्षेत्रसम्म सडकमा परेका खाल्टा पुरेको उनले बताए। ‘प्रदेश र स्थानीय सरकारलाई सडक निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भयो,’ उनले भने, ‘सडकमा आवतजावत गर्नै मुस्किल हुन थालेपछि प्रति टा«ली चार हजार ५ सयका दरले २७ ट्राली ग्रावेल खरिद गर्दै ग्रावेल गरेको हुँ।’

हसनपुर स्याउले खण्ड यसअघि नै पक्की भएपछि निर्माण भएको बर्षदिन नपुग्नै भत्किएको थियो। त्यसपछि उक्त खण्ड निर्माणका लागि स्वामित्व विवाद रहदै आएको छ। कहिले जिल्ला विकास समिति, कहिले प्राविधिक कार्यालय त कहिले सडक विभागले निर्माण गर्ने भन्दै सडक निर्माण अलपत्र परेको थियो। उक्त खण्डलाई पछि धनगढी –दीपायल द्रुतमार्गमा राखिएको थियो। द्रुत मार्ग पनि सुरुमा संघीय, त्यसपछि प्रदेश र अहिले फेरी संघीय सरकारले बनाउने भन्दै हस्तान्तरण भएको छ। तर द्रुत मार्गमा झण्डै डेढ बर्षदेखि काम ठप्प छ। 
 

कमेन्ट लोड गर्नुस