सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसोसियसन अफ एग्रिकल्चर नेपाल कृषकको लाखौँ रकम उठाएर फरार

२०७६ साउन २३, ०२:४८

फलफूल विरुवा तथा सहुलियतमा अनुदान दिने शर्तमा एसोसियसन अफ एग्रिकल्चर नेपालले जिल्लाका १३ सय कृषकको लाखौँ रकम उठाएर सम्पर्क विहिन भएको छ। कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग करिब १९ लाख ८ हजारभन्दा बढी रकम लिएर सम्पर्कविहिन भएको हो।

एग्रिकल्चरले कृषकहरुलाई उन्नत जातको विरुवा र तरकारीको बीउविजन सहयोग गर्ने नाममा कृषकहरुको लाखौ रुपैया उठाएर फरार भएको छ। करारमा काम गर्दै आएका कर्मचारीकोसमेत चैतदेखि ४ महिनाको तलब नदिएपछि कर्मचारीको समेत बिचल्ली भएको छ। कर्मचारीहरुले गाउँ–गाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका विरुवा दिने शर्तमा यो रकम संकलन गरेका थिए। रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी चासुम राईले बताए।

भोजपुर नगरपालिका–७ को च्यांविनी चोकमा कार्यालय स्थापना गरेर सञ्चालन गरेको थियो। संस्थाले वन संरक्षणसम्बन्धी जन चेतनामुलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका विउविजनहरु निःशुल्क वितरण, पशुपालनमा ५० प्रतशितमा निव्र्याजी ऋण उपलब्ध गराउने बजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता कार्यक्रम गर्ने बताउँदै समूह गठन गरेर यो रकम उठाउन काममा पठाएको कर्मचारीहरुले बताएका छन्। संस्थाले भोजपुर नगरपालिका, पौवादुम्मा गाउँपालिका, रामप्रसाद राई, आमचोक, र साल्पासिलिछो गाउँपालिकामा कृषक समूह गठन गरेर प्रति कृषक ५ सयदेखि २ हजारसम्मा रकम उठाएको कृषकहरु बताउँछन्। 

कर्मचारीले संकलन गरेकोे रकमसमेत लिएर फरार भएपछि पीडित कर्मचारीहरुले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भोजपुरमा निवेदन दिएका छन्। कर्मचारीहरु चासुम राई, अञ्जना कटुवाल, सोमित खत्री, मनोज गिरी, वम प्रसाद राई, मनिका मगर, मिना कार्कीले निवेदन दिएका छन्। निवेदनमा ४ महिनाको तलबसमेत नदिइ कृषकहरुको रकमसहित लिएर फरार भएको उल्लेख छ। एसोसियसन अफ एग्रीकल्चर नेपालको केन्द्रीय अध्यक्ष गणेश दत्त भोजपुरका शाखा प्रमुख सुरजबहादुर थापा र कार्यक्रम संयोजक सुरजबहादुर थापाको श्रीमती भद्रा खत्रीलगायतमाथि छानविन गर्न जाहेरीमा माग गरिएको छ। 

कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको संस्था जेठ २६ देखि बन्द रहेको छ। शाखा प्रमुख सुरजबहादुर थापाले श्रीमती बिरामी भएको र उपचार गराउन जानुपर्ने भनेर गएपछि कार्यालयमा नफर्केको कर्मचारी अञ्जना कटुवालले बताए। भाडामा लिएको घरको ५ महिनाकोे ७८ हजार भाडा लिन बाँकी रहेको घरधनी मिनकुमारी श्रेष्ठले बताए। जिल्ला प्रशासन कार्यालयले पत्र प्राप्त भएकाले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ। ‘सम्पर्क समन्वय गर्ने काम भइरहेको र चाँडै रिजल्ट आउने प्रमुख जिल्ला नुरहरी अधिकारी खतिवडाले बताए।

कमेन्ट लोड गर्नुस