नेपाली काँग्रेसले अपनाउनुपर्ने सुधार रणनीतिबारे डाक्टर रणबहादुर रावलको टिप्पणी
धनगढीः नेपालमा सुशासन, पारदर्शिता र आर्थिक प्रगतिलाई दीर्घकालीन रुपमा मजबुत बनाउन नेपाली कांग्रेसले अब अविलम्ब संस्थागत सुधारको मार्ग लिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावलले विस्तृत धारणा प्रस्तुत गरेका छन्।
उनका अनुसार नेपाललाई भ्रष्ट्राचारमुक्त, सुशासनयुक्त र आर्थिकरूपमा समृद्ध राष्ट्र बनाउने आधार पाँच प्रमुख क्षेत्रमा केन्द्रित स्पष्ट कदमसँग जोडिन्छ।
भ्रष्टाचार नियन्त्रण : सबैभन्दा प्राथमिक सुधार
डाक्टर रावलका अनुसार राज्यका सबै तहमा शून्य सहनशीलता नीति प्रभावकारी रूपमा लागू गर्नैपर्छ। अख्तियार, महालेखा, लेखापरीक्षण जस्ता निकायलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न, उच्चस्तरीय मुद्दा छिटो टुंगो लगाउने न्यायिक संयन्त्र बलियो बनाउन र पार्टीभित्रै टिकट तथा पदमा मेरिट–आधारित प्रणाली लागू गर्नुपर्ने उनले उल्लेख गरे।
सुशासनका लागि प्रशासन डिजिटल र पारदर्शी
सेवा प्रवाह ढिलो, जटिल र अनुगमनहीन हुँदा नागरिक कष्टकर अवस्थाबाट गुज्रिन बाध्य भएको उल्लेख गर्दै उनले सबै सरकारी खरिद, बजेट खर्च, कर्मचारी नियुक्ति तथा सेवा प्रक्रियालाई पूर्ण डिजिटल प्रणालीमा लैजाने आवश्यकता औँल्याए।
नागरिकका गुनासो तुरुन्त सुन्न र समाधान गर्न सकिने वास्तविक समयका उजुरी प्रणाली स्थापना पनि उनको सुझावमा समावेश छ।
आर्थिक समृद्धिको आधार : उत्पादनमुखी प्रणाली
कृषि, जलविद्युत, पर्यटन, खनिज, सूचना–प्रविधि लगायत क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनले बताए।
युवालाई उद्यम शुरु गर्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन, लगानीकर्ताले कार्यालयदेखि कार्यालय धाउनुपर्ने झन्झट हटाउन र विदेशमा रहेका युवालाई स्वदेश फर्किएर लगानी गर्न अनुकूल माहोल बनाउनु आर्थिक उन्नतिको प्रमुख आधार भएको उनको विश्वास छ।
लोकतान्त्रिक मूल्य–मान्यता सुदृढिकरण
डाक्टर रावलले पार्टीभित्र समूहबद्धता र अनैतिक चलन हटाई प्रतिस्पर्धात्मक आन्तरिक निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने बताए।
महिला, दलित, जनजाति, मधेसी, थारु लगायत समुदायको समान प्रतिनिधित्व, प्रेस स्वतन्त्रताको संरक्षण तथा सूचनाको हकको प्रभावकारी कार्यान्वयन लोकतन्त्र मजबुत पार्ने प्रमुख आधार रहेको उनको धारणा छ।
संघीयता र आधारभूत सेवामा सुधार
संघ, प्रदेश र स्थानीय तहबीच अधिकार क्षेत्र स्पष्ट पार्दै महसुल बाँडफाँड पारदर्शी बनाउनुपर्ने र शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा दीर्घकालीन सुधार नगरी समृद्ध नेपाल सम्भव नहुने उनले उल्लेख गरे।
डाक्टर रावलले नेपाली कांग्रेसले कडा कानुनी तथा संस्थागत सुधार गर्नुपर्ने, पारदर्शी र डिजिटल प्रशासन, उत्पादनमुखी अर्थतन्त्र तथा रोजगारी सिर्जना,आन्तरिक लोकतन्त्र र पारदर्शिता, संघीयता मजबुतीकरण अपनाउन सके नेपाललाई समृद्ध, स्थिर र सुशासनयुक्त राष्ट्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।