सुदूरपश्चिमका केही क्षेत्र गिद्ध सुरक्षित क्षेत्र घोषणा हुने तयारी
धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने तयारी तीव्र भइरहेको छ। गिद्धको उपस्थिति राम्रो रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी कोरीडोर र खुटिया नदी क्षेत्रलाई सुरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने प्रक्रिया अघि बढाएको बिसिएन (नेपाल पन्छी संरक्षण सङ्घ) का परियोजना अधिकृत भूपाल नेपालीले जानकारी दिए।
नेपालले यसअघि गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्रका रूपमा घोषणा गरिसकेको छ। अब दोस्रोपटक सुदूरपश्चिममा गिद्ध सुरक्षित क्षेत्र विस्तार हुने तयारी गरिएको हो।
गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्न सेटेलाइट ट्याग गरिएका गिद्धहरूको बढी बाँच्ने दर, डाइक्लोफेनेकजस्तो हानिकारक औषधि नमिलेको तथ्य, र औषधि सर्वेक्षणका सकारात्मक परिणामलाई मुख्य आधार मानिने बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा गिद्ध संरक्षणका लागि गिद्ध सचेतना कार्यक्रम, अनुसन्धान, भेटेरिनरी औषधि अनुगमन, गिद्धमा सेटेलाइट जडान तथा गुँड अनुगमनलगायतका गतिविधि सञ्चालन भइरहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका १५ डँगर गिद्ध र ४ साना खैरो गिद्ध गरी १९ गिद्धमा सेटेलाइट जडान गरिएको छ र तिनको नियमित अनुगमन भइरहेको बिसिएन ले जनाएको छ।
बिसिएन का अनुसार कञ्चनपुर र डडेल्धुरामा गिद्धका गुँड संख्या बढ्दो क्रममा छन् भने कैलालीमा भने घटिरहेको छ।