नख्खु कारागारबाट फरार कैदी दार्चुलाबाट पक्राउ
दार्चुला: दार्चुला प्रहरीले ललितपुरको नख्खु कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ। दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका–७ का २३ वर्षीय दीपक चन्दलाई मंगलबार बिहान सदरमुकामको पुलघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले गरेको गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेको चन्दलाई बिहान ११ बजे नियन्त्रणमा लिइएको सहप्रवक्ता देवन्द्रसिंह बुढाथोकीले जानकारी दिए। चन्दलाई दार्चुला जिल्ला अदालतले २०७८ सालको कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।
नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ गते देशभर भएको जेनजी आन्दोलनका दौरान बन्दीगृहबाट फरार भएका थिए। पक्राउ परेका चन्दलाई दार्चुला कारागार पठाइएको प्रहरीले जनाएको छ।