अपहेलित हुनु परेकोमा कञ्चनपुरका एचआइभी सङ्क्रमितको गुनासो
कञ्चनपुर: वेदकोट नगरपालिका–५ की २७ वर्षीय धना (नाम परिवर्तन) दुई वर्षअघि एचआइभी सङ्क्रमण पुष्टि भएयता नियमित औषधी सेवन गर्दै आएका छन्। तर समाजमा भने दिनहुँजसो अपहेलनाको सामना गर्नुपरेको पीडा उनले सुनाईन्। स्वास्थ्य कार्यालय कञ्चनपुरले सोमबार आयोजना गरेको एचआइभी÷एड्ससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै छिमेकीहरूले हेपाहा दृष्टिले व्यवहार गर्ने भएकाले सामान्य जीवनयापन कठिन हुँदै गएको बताईन्।
न्यून आर्थिक अवस्थाका कारण उहाँको घरमा खाने पानीको धारा समेत जडान भएको छैन। पानी लिन छिमेकीकहाँ जाँदा पनि सङ्क्रमित भएको भन्दै टाढा रहने, अपहेलित रूपमा बोल्ने व्यवहारले मानसिक तनाव बढाएको उनको गुनासो छ। दुई वर्षअघि श्रीमान्सँगै एचआइभी पुष्टि भएको थियो भने तीन वर्षीय छोरा पनि सङ्क्रमित भएपछि तिनै जनाले नियमित औषधी सेवन गरिरहेका छन्। समाजको नजरका कारण दुई–तीन पटक आत्महत्याको प्रयाससम्म गर्नुपरेको तर सन्तानको भविष्यका लागि बाँचिरहनु परेको पीडा उनले पोखिन् ।
भीमदत्त नगरपालिका–१५ का ३८ वर्षीय रमा (नाम परिवर्तन) दुई दशकदेखि आरआइटी सेवन गर्दै आउनुभएको छ र अहिले एचआइभी सङ्क्रमितका हकमा विभिन्न समूहमार्फत अभिवद्र्धन तथा सघनता प्रदान गर्दै आएकी छिन्। आइतबारको अन्तक्र्रियामा उनले सङ्क्रमितलाई हेर्ने समाजको दृष्टिकोण अझै परिवर्तन नभएको उल्लेख गरिन्। उनका अनुसार पुरुष भन्दा महिला सङ्क्रमितले बढी विभेद सहनुपर्छ।
कञ्चनपुरमा अहिले सम्म ६८२ जनामा एचआइभी सङ्क्रमण पुष्टि भइसकेको छ, जसमध्ये ४५५ जना नियमित उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। उपचाररतमध्ये २२६ महिला, २०२ पुरुष, १५ वर्षमुनिका २० बालबालिका तथा ७ जना यौनिक अल्पसङ्ख्यक छन्। १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई सरकारले शिक्षा, स्वास्थ्य, पोषण तथा जीविकोपार्जनका लागि मासिक रु. १,००० उपलब्ध गराउँदै आएको छ।
आर्थिक वर्ष २०८१-८२ मा एचआइभीका कारण १४ जनाले ज्यान गुमाएका थिए। बर्सेनि १४–१५ जनाले मृत्यु हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रसिंह रावलको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहोराले यौनसम्पर्क प्राकृतिक विषय भएकाले श्रीमान–श्रीमतीबीचको यौनसम्बन्धलाई असुरक्षित रूपमा नहेर्नुपर्ने बताए। उनले दम्पतीबीचको निष्ठा महत्वपूर्ण हुने र पछिल्लो समय अवैध यौनसम्पर्कका विषय बढेका कारण सबै सजग हुन आवश्यक रहेको धारणा व्यक्त गरे।
(गोरखापत्रबाट साभार)