सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हरैया शिविर बैद्य माओवादीद्वारा कब्जा

२०७६ साउन २२, ०५:४१ खबर संवाददाता

कैलालीको हरैया शिविर मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कब्जा गरेको छ। भुमाफीया, दलाल र केही पार्टीका नेताहरुकै संग्लनतामा द्वन्द्धकालमा बसाईएका सुकुम्वासीलाई हटाईएको भन्दै बैद्य माओवादीले पुनः शिविर कब्जा गरेको हो। मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले पार्टीका कैलाली जिल्ला अध्यक्ष रामवहादुर केसी लगायतका नेताहरु शिविर पुगेर झण्डा गाड्दै शिविर कब्जा गरिएको बताए। उनले शिविर कब्जा गर्दै फेरी पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जग्गा कब्जामा लिएको खवर आएकाले टोली पठाईएको बताए। 

द्धन्द्धकालमा तत्कालीन माओवादीले हरैया शिविरमा सुकुम्वासीलाई बसालेको थियो तर उक्त जग्गा बिक्रि भएपछि उनीहरुलाई बल प्रयोग गर्दै हटाईएको थियो। सुकुम्वासी हटाउन भाडाका बाउन्सरहरु समेत प्रयोग भएपछि चौतर्फी आलोचना भएको थियो तर स्थानीय प्रशासन मुकदर्शक बनेको थियो। हरैयाका केही सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही फेरी हरैया फर्किएका थिए भने कतिपय हरैयामै बसिरहेका थिए।

हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ। सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो। जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। जग्गा बिक्रीपछि ती नेताकै मिलोमतोमा हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो।

कमेन्ट लोड गर्नुस