सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरुबारे प्राज्ञिक बहस आयोजना

२०८२ मंसिर ११, ०९:१९ जयन्त सिंह भाट

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरु सम्बन्धी शिक्षाविद र प्राज्ञिक व्यक्तित्वहरुबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। 

विहीबार सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका पुर्व उपकूलपति प्राध्यापक डा. तिर्थ खनिया र मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. शोभाकर कडेल लगायत सुदूरपश्चिम विश्वविद्यालयका विभिन संकायका डीन र प्राध्यापक तथा अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वहरुबिच आयोजना गरिएको उक्त बहसमा विज्ञहरुले नेपालको उच्च शिक्षा नितिमा व्यापक सुधारको आवश्यकता औल्याएका छन्। 

मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक यदु ज्ञवालीले विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय स्तरको भर्ना निति नहुँदा नेपाल बाहिरका विद्यार्थीहरुलाई आकर्षित गर्न चुनौती रहेको बताएका छन्। त्यस्तै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरणका लागि देश वाहिरका विश्वविद्यालयहरुसंग समन्वयको आवश्यकता रहेको पनि उनले बताए। अनुसन्धान सँस्कृतिको विकासका लागि अनिवार्य नियम र मान्यता स्थापित गर्न आवश्यक रहेको उनको भनाई छ। 

प्राज्ञिक व्यक्तित्वहरुबिचको उक्त अन्तरक्रिया कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्री प्राध्यापक डा. राजेन्द्रबीर चन्दले सुदूरपश्चिम प्रदेशको उच्चशिक्षामा प्रमुख चुनौतीहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए। विश्वविद्यालयहरुले प्रदान गर्ने उच्च शिक्षाका पाठ्यक्रमहरुले ठोस उद्देश्य र नतिजा दिन नसक्दा बर्सेनी विद्यार्थीहरुको वौद्धिक पलायन बढीरहेको उनले बताए। 

त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. शोभाकर कडेलले नेपालको शैक्षणिक विधिमा प्रमुख समस्या रहेको बताए। “ हाम्रा विद्यार्थीहरुले कक्षाकोठामा के समय सापेक्ष ज्ञान, सिप, क्षमता र योग्यता प्राप्त गर्ने अभ्यास गरिरहेका छन त ?” उनले भने, “ तालिम र प्रशिक्षणहरुमा यस्तो गर्नुपर्छ भनेर भन्छौँ तर कक्षाकोठामा गर्छौ कि गर्दैनौ?, त्यसैले हामीले शैक्षणिक विधिको माध्यमबाट पुर्ण सिकाईको वातावरण बनाउनुपर्छ” 

हालको स्थितिमा विद्यार्थी, प्राध्यापक प्रशासन र हरेक क्षेत्रमा सकारात्मक भावनाको विकास गर्नु पनि चुनौतीको विषय रहेको उनको भनाई छ। ज्ञानको हिसाबले अगाडी भएपनि सिप, क्षमता र योग्यता विकास गर्न कक्षाकोठाहरु कार्यशालाको ढाँचामा निमार्ण गर्न  जोड दिनुपर्ने उनले बताए। 

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका पुर्व उपकूलपति प्राध्यापक डा. तिर्थ खनियाले नेपालमा विश्वविद्यालय सञ्चालनको महत्व र ढाँचाबारे अझैपनि राम्रोसंग बुझाउन नसकिएको बताएका छन्। “ विश्वविद्यालय ज्ञानको सिर्जनाका लागि स्थापित संस्था हो त्यसैले यसको पहिलो छवि समस्याको समाधानकर्ताका रुपमा हुनुपर्छ” उनले भने, “सरकारले समस्या समाधान र अनुसन्धानका लागि विश्वविद्यालयको प्रयोग गर्नुपर्ने हो, हामीकाहाँ त्यसको अभाव छ।”  

नेपालको उच्चशिक्षाको समग्र रुपरेखा नै स्पष्ट हुन नसकेको उनको भनाई छ। “कुनै विश्वविद्यालयसंग लाखौँ विद्यार्थीहरु हुने, अनि कुनै संग न्यूनतम विद्यार्थीहरु पनि नहुने ?” उनले भने, “ यसलाई कुन मोडेलले मार्गदर्शन गर्छ ?” आवश्यकता अनुसार नभएर नेपालका अधिकांश विश्वविद्यालयहरु राजनितिक अभिप्रायले स्थापित भएकोले  यसको सञ्चालन रुपरेखा स्पष्ट नभएको उनले बताए। नेपालको उच्चशिक्षालाई विश्वव्यापी प्रतिस्पर्धामा लैजान स्पष्ट रुपमा मार्गनिर्देश गर्ने निति र संयन्त्रको आवश्यकता रहेको र त्यसका लागि प्रर्याप्त बहस हुन जरुरी रहेको उनले बताए। 

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यपक डा. हेमराज पन्त नेपालको उच्च शिक्षाको प्रमुख चुनौती अनुसन्धानको अभाव र गरिबी रहेको बताउँछन्। “ जबसम्म हामी उच्च शिक्षामा फरक अनुसन्धान समावेश गर्दैनौँ तबसम्म विश्वस्तरिय प्रगति हुँदैन” उनले भने, “विश्वविद्यालयलाई समाजसंग र विद्यार्थीहरुलाई उत्पादन संग जोड्नु आवश्यक छ।”  विश्वविद्यालयको गुणस्तर सुधार्न संरचना, प्रयोगशाला र प्राध्यापकहरुको क्षमता विकास अतिआवश्यक रहेको उनले बताए। 

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रम, त्यसको अद्यावधिक र उपलब्धता सम्बन्धि प्रश्न उठाएका थिए। विद्यार्थीहरुका समस्याहरु विश्वविद्यालयले क्रमिक रुपमा सम्बोधन गर्दै गईरहेको उपकूलपति पन्तले बताएका छन्। 

उक्त प्राज्ञिक बहस कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोक बहादुर बिष्टको अध्यक्षतामा आयोजना भएको हो । बहसमा क्याम्पसका प्राध्यापक, विद्यार्थी र विभिन्न प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अवसरमा कैलाली बहुमुखी क्याम्पसबाट आवधिक रुपमा प्रकाशन हुने अनुसन्धानमूलक “केएमसी जोर्नल” को सातौँ संस्करणको दोस्रो श्रृङ्खलाको पनि बिमोचन गरिएको छ।         


  

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस