सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रमुख कृषि बालीको क्षेत्रफल र उत्पादन बढ्यो

२०८२ मंसिर ८, ०२:४९ अनुभव भट्ट

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा आर्थिक वर्ष २०८१-८२ मा वृद्धि भएको छ। प्रमुख कृषि बाली—खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसलाले ढाकेको क्षेत्रफल यो वर्ष २.१६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस क्षेत्रमा ७.७१ प्रतिशतको गिरावट आएको थियो।

प्रदेश सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मलखादको समयमै उपलब्धता, सिंचाइ सुविधा विस्तार, वर्णशंकर जातको मकैको बिउ प्रयोगमा वृद्धिसहित वैदेशिक रोजगारबाट फर्केका युवाहरूको व्यावसायिक कृषितर्फ आकर्षणलाई यस वृद्धिको मुख्य कारण मानिएको छ। समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.३० प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्ष सोही बालीको क्षेत्रफल ८.९१ प्रतिशतले घटेको थियो।

बाली अनुसार हेर्दा धान र गहुँको क्षेत्रफल क्रमशः २.४८ र ४.२३ प्रतिशतले घटेको छ भने मकै, कोदो, जौँ, फापर, आलु, उखु, भटमास, दलहन र तेलहनको क्षेत्रफलमा ०.८० प्रतिशतदेखि ७४.१३ प्रतिशतसम्म वृद्धि भएको छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ९.५८ प्रतिशतले वृद्धि भएको छ, अघिल्लो वर्ष यो क्षेत्र ४.९६ प्रतिशतले घटेको थियो। फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल पनि यस वर्ष ८.५२ प्रतिशतले बढेको राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

उत्पादनतर्फ हेर्दा आर्थिक वर्ष २०८१÷८२ मा प्रमुख कृषि बालीको कुल उत्पादन २.७६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष समग्र कृषि उत्पादन ३.६४ प्रतिशतले बढेको थियो। सिंचित क्षेत्रफलमा वृद्धि, कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण, उन्नत बीउबिजनको प्रयोग तथा अनुकूल मौसम र पर्याप्त वर्षाले उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याएको छ।

खाद्य तथा अन्य बालीको उत्पादन पनि २.७६ प्रतिशतले बढेको छ। तीमध्ये सबैभन्दा बढी तेलहनको उत्पादन १८.८९ प्रतिशत र आलुको उत्पादन १६.११ प्रतिशतले बढेको छ भने फापरको उत्पादन ७७.८८ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट देखिएको छ। जिल्लागत आधारमा कैलाली, कञ्चनपुर र दार्चुलामा खाद्य तथा अन्य बाली उत्पादनमा वृद्धि भएको छ, जसमा कैलाली अग्रस्थानमा छ। अछाममा भने १५.६५ प्रतिशतले उत्पादन घटेको छ।

तरकारी उत्पादन यस वर्ष ३.२० प्रतिशतले बढेको छ, जबकि गत वर्ष ०.९८ प्रतिशतले घटेको थियो। जिल्लागत आधारमा अछाममा तरकारी उत्पादन ५३.५० प्रतिशतले सबैभन्दा बढी बढेको छ, जबकि बाजुरामा २९.८५ प्रतिशतले घटेको छ।

फलफूल तथा मसला बालीको उत्पादन पनि यस वर्ष २.२१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो वृद्धि १.९७ प्रतिशत थियो। जिल्लागत रूपमा दार्चुला १५७.५४ प्रतिशत उत्पादन वृद्धि सहित अग्रस्थानमा रहेको छ भने डोटीमा २९.७४ प्रतिशतले घटेर सबैभन्दा ठूलो गिरावट देखिएको छ।

समग्रमा, सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्र पुनः सुधारतर्फ उन्मुख भएको देखिन्छ।
 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस