सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको सरकारी वकिल कार्यालयमा तोडफोड गर्नेविरुद्ध जाहेरी

२०८२ मंसिर ७, ०३:११ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कार्यालयमा भएको आगजनी र तोडफोडबारे छानबिन गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो। न्यायाधिवक्ता फटिकराज मुडभरीका अनुसार आन्दोलनकारीले कार्यालयको भुइँतलामा आगजनी गर्दै कम्प्युटर, फर्निचर र सिसिटिभी लगायतका उपकरण तोडफोड गरेका थिए, जसबाट करिब १३ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। महत्वपूर्ण फाइल वा मिसिलमा भने क्षति पुगेको छैन।

मुडभरीका अनुसार आन्दोलनकारीले सुरुमा सिसिटिभी तोडफोड गरेका कारण उनीहरूको पहिचान तत्काल सम्भव नभएको भए पनि वरिपरिका सिसिटिभी फुटेजको सहायताले पहिचान गर्न सकिने छ। “तोडफोड गर्नेको छानबिन र आवश्यक कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छौँ,” मुडभरीले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले पनि सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोडको विषयमा जाहेरी दर्ता भएको पुष्टि गर्दै, भदौ २४ गते साँझ कार्यालय बन्द अवस्थामा आगजनी भएको प्रारम्भिक तथ्यले देखाएको बताए। उनका अनुसार वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अघि बढाइनेछ।

कञ्चनपुरका अन्य कार्यालय र निजी घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी उजुरीमा पनि छानबिन जारी रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस