मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
झापाः मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शनिवार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए।
टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो। उपचारकै क्रममा राउतको मृत्यु भएको प्रवक्ता खड्काले बताए। ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।