कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान नियन्त्रणमा
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित माछापुच्छ्रे बैंक नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ ५ः४० बजे खटिएको इलाका प्रहरी कार्यालय लम्कीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको उक्त सामानमा चिनी, सुर्ती लगायतका सामग्री समावेश छन्।
यी सामग्रीको मूल्य करिब ३८ हजार ८०० बराबर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान चलिरहेको छ। यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ बुद्धविहार नजिकको भित्री सडकबाट अबैध रुपमा भारतबाट ल्याइएका कृषि सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले समातेका सामग्रीमा गहुँको विउ, हरियाली मल लगायतका सामान रहेका छन्। पक्राउ परेका सामानहरूको मूल्य करिब ८० हजार ८८० रुपैया बराबर रहेको छ। थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।