सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया हस्पिटलले गर्‍यो सुदूरपश्चिममै पहिलो पटक क्याथ ल्याब सेवा सुरु

२०८२ मंसिर ५, ०२:०१ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ। हस्पिटलले सुदूरपश्चिममै पहिलो पटक क्याथ ल्याब सेवा सुरू गरेको हो। शुक्रवारदेखि हस्पिटलले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको हो।

सुदूरपश्चिममै पहिलो पटक मुटुका रोगीहरूका लागि हस्पिटलमा क्याथ ल्याब सेवा सुरु गरिएको हस्पिटलका अध्यक्ष डाक्टर आनन्द पाठकले बताए। उनले सुदूरपश्चिम भौगोलिक हिसाबले विकट रहेकाले यहाँ स्वास्थ्यका क्षेत्रमा धेरै चुनौतीहरू रहेको बताउँदै मुटुको समस्या भएका बिरामीको सहज उपचारका लागि क्याथ ल्याब सेवा सुरू गरेको बताए। उनले मुटुको समस्या एक प्रमुख चुनौतीका रूपमा देखिएको बताउँदै सो समस्याको समाधान गर्नका लागि अत्तरिया हस्पिटलले प्रयास गरेको बताए।

अत्तरिया हस्पटलले क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएसँगै यहाँका मुटुको समस्या भएका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। क्याथ ल्याबको अभावमा नेपालगन्ज, काठमाडौँ तथा भारत जानुपर्ने अवस्था हटेको डाक्टर पाठकले बताए। ‘अत्तरिया हस्पिटलले अत्याधुनिक स्वास्थ्य सेवाहरू थप्दै आएको छ।

यहाँका बिरामीले सजिलै उपचार सेवा लिन सकून भनेर हामीले सेवा विस्तार गरिरहेका छौँ,' उनले भने, 'अहिले विभिध कारणले मानसिहरुमा मुटुको समस्या देखिने गरेको छ। बिरामीहरूले उपचार नपाएर ज्यान गुमाउनु परेको अवस्थालाई दृष्टिगत गर्दै सुदूरपश्चिममा अति आवश्यक भैसकेको तर अहिलेसम्म कतै नभएको मुटु रोगको उपचार गर्न सकिने क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएका हौँ।’ अत्तरिया हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसँगै मुटुका बिरामीले उपचारका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको डाक्टर पाठकले बताए।

हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीले क्याथ ल्याबबाट गर्मे सकिने उपचारका विषयमा बताएका थिए। उनले क्याथ ल्याबमा मुटुका नसा तथा रक्तनलीहरुको अवरोध हेर्ने तथा खोल्न सकिने उपचार गर्न सकिने बताए । 'शल्यक्रिया गर्नुपर्ने बाहेकाका उपचार क्याथ ल्याबबाट गर्न सकिन्छ। मेसिनले अस्थायी तथा स्थायी पेसमेकर राख्न सकिन्छ,' उनलले भने, 'क्याथ ल्याबबाट नशाबाट औषधी पठाएर मुटुको उपचार गर्न सकिन्छ।'

सुदूरपश्चिमका मुटुमा समस्या भएका बिरामीले यसअघि उपचारका लागि बाहिर धाउनु पर्ने समस्याको अत्तरिया हस्पिटलले क्याथ ल्याब सुरू गरेसँगै अन्त्य भएको  वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्टले बताए। उनले मुटुको शल्यक्रिया नगरि पेसमेकर राख्ने, भल्व खोल्ने, मुटुमा परेको प्वाल टाल्ने लगायतका सम्पूर्ण सेवा अब अत्तरिया अस्पतालबाटै सम्भव भएको बताए । 

कमेन्ट लोड गर्नुस