सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुर नगरपालिकाले मानसिक समस्या भएका दाजुभाइको निःशुल्क उपचार गर्दै

२०८२ मंसिर ४, ०५:४६ खबर संवाददाता


धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा नम्बर ५ का मानसिक समस्या भएका दुई दाजुभाइको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ।

आश्रयविहीन बनेका ती दाजुभाइमा गम्भीर मानसिक समस्या देखिएपछि नगरपालिकाले आफ्नै पहलमा धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गराएको हो। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले दुबै दाजुभाइको उपचारको व्यवस्था मिलाएका हुन्।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि तत्काल उद्धार गरेर अस्पतालसम्म पुर्यारएको नगर प्रमुख ओझाले बताए।

'हामीले दाजुभाइलाई नगरपालिकाको गाडीमै राखेर निसर्ग अस्पताल ल्याएर भर्ना गराएका छौँ। उपचार खर्चमा छुटका विषयमा अस्पतालसँग छलफल भइसकेको छ, बाँकी रकम नगरपालिकाले नै व्यहोर्छ,' नगर प्रमुख ओझाले भने।

उनका अनुसार पछिल्लो समय नगर क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको छ र यस्तो अवस्थाले समुदायमै समस्या सिर्जना गर्ने भएकाले नगरपालिका स्वयं अग्रसर भएर उपचार व्यवस्थापन गर्दै आएको छ।

ती मध्ये दाइको अवस्था केही स्थिर भएको हुँदा नियमित औषधि उपचारका लागि उनलाई मानवसेवा आश्रममा राख्ने तयारी गरेको ओझाले बताए। तर भाइको अवस्था गम्भीर रहेकाले उनलाई काठमाडौं वा अन्यत्र उपचार गर्न लैजानुपर्ने अवस्था रहेको  नगर प्रमुख ओझाले बताए।

'नगरपालिकाले विपन्न नागरिकको उपचारमा सदैव ध्यान दिएको छ। मानसिक समस्याको घटनामा वृद्धि भएकाले उपचार र परामर्शमा पनि नगरपालिकाको ध्यान गएको छ,' उनले भने, 'नगरपालिकामै मानसिक समस्याको पहिचान गर्ने र उपचार सेवा प्रादन गर्ने योजना छ। यस्ता घटनामा नगरपालिकाले उपचारका लागि सहयोग गर्छ,' नगर प्रमुख ओझाले भने।
 

कमेन्ट लोड गर्नुस