अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट
काठमाडौँ: अमेरिकाबाट निर्वासित ३५ जना नेपाली नागरिक काठमाडौँ आइपुगेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अधिकांश व्यक्तिहरू अवैध मार्गबाट अमेरिका पुगेका थिए। तर एकजना भने विद्यार्थी भिसामा गएका थिए।
पंगेनीका अनुसार ती विद्यार्थीले कलेजमा नवीकरण नगरेको र भिसा नियमविरुद्ध काम गरेको पाइएपछि उनलाई डिपोर्ट गरिएको हो। अर्को व्यक्तिलाई भने भिजिट भिसामा अमेरिका पुगेपछि अवैध रूपमा काम गरेको आरोपमा पक्राउ गरी डिपोर्ट गरिएको बताइएको छ।
बाकी ३३ जना विभिन्न मुलुक हुँदै अवैध रूपमा अमेरिका पुगेका थिए। उनीहरूले तस्करहरुलाई जनही ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ। दुई वर्षसम्म विभिन्न देशमा बसेर अमेरिका प्रवेश गर्न सफल भए पनि अन्ततः अमेरिकी अधिकारीहरूले उनीहरूलाई डिपोर्ट गरेका हुन्।
प्रहरीका अनुसार डिपोर्ट भएका मध्ये धेरैजसो रुकुम र दाङ क्षेत्रका हुन्। तर फर्किएका व्यक्तिहरूले उजुरी दर्ता गर्न मानेका छैनन्।
अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अवैध आप्रवासीप्रति कडा नीति अपनाउँदै, अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई निकाल्ने अभियान सुरु गरेका थिए।
ट्रम्पको नेतृत्वकालदेखि हालसम्म २०० भन्दा बढी नेपालीहरू अमेरिका बाट डिपोर्ट भइसकेका छन्।