कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
कञ्चनपुर: कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट प्रहरीले भन्सार शुल्क छलि गरी भारतबाट ल्याइएका विभिन्न सामान बरामद गरेको छ। मंगलबार राति गरिएको प्रहरी चेकजाँच तथा गस्तीका क्रममा करिब रु. २ लाख ६८ हजार २ सय ३० बराबरका सामग्री फेला परेका हुन्।
मिति २०८२।०८।०२ गते भिमदत्त नगरपालिका–१ भासी, गड्डाचौकी, बेलौरी नगरपालिका–८ पचुई र दोधाराचाँदनी नगरपालिका–३ पट्टरखल्लामा गरिएको कारबाहीमा बेबारिसे अवस्थामा रहेका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामानमा चिनी, सुर्ती, कुरकुरे, पास्ता, युरिया मल, उनी कपडा, सामान्य कपडा, हाडवेयर सामग्री, किराना सामग्री लगायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न इकाइबाट खटिएको टोलीले सामान नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको जनाएको छ।